काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा सहभागी हुन पार्टीका सबै सांसद चितवन जाने भएपछि प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरिएको छ ।
शनिबारदेखि सुरु हुने महाधिवेशन तीन दिनसम्म सञ्चालन हुनेछ । रास्वपाले आफ्ना सबै सांसदलाई महाधिवेशन प्रतिनिधि बनाएको छ । मन्त्रीहरू समेत महाधिवेशनमा सहभागी हुने भएपछि सभामुख डिपी अर्याल ले प्रतिनिधि सभाको बैठक ६ दिनका लागि स्थगित गरेका हुन् ।
सामान्यतया शनिबार र आइतबार सार्वजनिक बिदा हुने भए पनि आवश्यकताअनुसार यसअघि आइतबार समेत संसद बैठक बस्ने गरेको थियो । तर रास्वपाका सबै सांसद महाधिवेशनमा सहभागी हुने भएपछि संसद सञ्चालन गर्न कठिनाइ परेको स्रोतको भनाइ छ ।
संसद सचिवालयका एक कर्मचारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने कुनै दलको महाधिवेशन चलिरहेको अवस्थामा, विशेषगरी त्यस दलका अधिकांश सांसद सहभागी हुने भएमा सदन स्थगित गर्ने अभ्यास विगतदेखि नै रहँदै आएको बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने दलहरूको महाधिवेशनका बेला, यदि सदन सञ्चालनको तालिका परेको छ भने बैठक स्थगित गर्ने प्रचलन नयाँ होइन, यसअघि पनि यस्ता उदाहरण छन् । ’
प्रतिक्रिया दिनुहोस