नवलपरासी / नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–२ चिसापानीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार बिहान बस र ट्रक एकाआपसमा ठोक्किँदा एक महिलाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
शनिबार बिहान करिब ५ बजे काठमाडौंबाट त्रिवेणीतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ख ०६६५ नम्बरको यात्रुवाहक बसले चिसापानी क्षेत्रमा यात्रु ओरालेर सडकमा मोडिने क्रममा सोही दिशाबाट आउँदै गरेको ना.५ ख १९०५ नम्बरको ट्रकले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (पश्चिम) ले जनाएको छ ।
दुर्घटनामा विनयी त्रिवेणी गाउँपालिका–६ निवासी ३० वर्षीया नेहा गुरुङ गम्भीर घाइते भएकी थिइन्। उनलाई तत्काल उपचारका लागि चिसापानी अस्पताल पु¥याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा सोही स्थानका ३२ वर्षीय मदन क्षेत्री, बस चालक बर्दघाट नगरपालिका–४ निवासी ४८ वर्षीय लक्ष्मण ज्ञवाली तथा प्रतापपुर गाउँपालिका–९ निवासी ३५ वर्षीय दिनानाथ चौधरी घाइते भएका छन्। घाइतेमध्ये चालक ज्ञवालीको अवस्था थप उपचार आवश्यक देखिएपछि रुपन्देहीस्थित देवदह मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले जनाएको छ। अन्य दुई जनाको चिसापानी अस्पतालमै उपचार भइरहेको छ।
बसमा चालकसहित १५ जना सवार रहेकोमा ११ जना यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक धादिङको सिद्धलेक गाउँपालिका–३ निवासी २३ वर्षीय विष्णु थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस