चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीमाथि कार्यकर्ताले हुटिङ गरेका छन् । लोकतान्त्रिक संस्थाको भूमिका र सरकारका केही निर्णयबारे टिप्पणी गर्न खोज्दा हलमा उपस्थित रास्वपा कार्यकर्ताले हुटिङ गरेर विरोध गरेका हुन् ।
शुभकामना मन्तव्यका क्रममा ज्ञवालीले आफू आलोचना गर्न नभई शुभकामना दिन आएको स्पष्ट पार्दै लोकतन्त्रमा नियन्त्रण र सन्तुलनको व्यवस्था कमजोर हुन नहुने बताएका थिए। उनले राष्ट्रपति, न्यायपालिका र संसदजस्ता संस्थाहरू बलियो रहनुपर्ने धारणा राख्दै सरकारका केही निर्णयले प्रश्न उठाएको संकेत गरेका थिए।
ज्ञवालीले ‘लोकतन्त्र भनेको नियन्त्रण र सन्तुलनको प्रणाली हो। राष्ट्रपति संस्था, न्यायालय र संसद कमजोर भए लोकतन्त्र पनि कमजोर हुन्छ ’ भन्ने अभिव्यक्ति दिँदै गर्दा हलमा रहेका रास्वपा कार्यकर्ताहरूले हात उठाएर विरोध जनाएका थिए , विरोध चर्किएपछि उनले आफ्नो मन्तव्य छोट्याएर सम्बोधन टुंग्याएका थिए।
उद्घाटन समारोहमा अन्य राजनीतिक दलका प्रतिनिधिहरूले मन्तव्य राख्दा भने कार्यकर्ताहरू शान्त देखिएका थिए , ज्ञवालीमाथिको हुटिङ कार्यक्रमकै चर्चित घटनामध्ये एक बन्यो ।
घटनापछि एमाले सचिव महेश बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ज्ञवालीमाथि गरिएको हुटिङ र असहिष्णु व्यवहारले रास्वपाको लोकतान्त्रिक संस्कारमाथि गम्भीर प्रश्न उठाएको टिप्पणी गरेका छन्। उनले फरक विचार सुन्न नसक्ने प्रवृत्तिले लोकतान्त्रिक अभ्यासलाई कमजोर बनाउने बताएका छन्।
यता कार्यक्रममा अर्को रोचक पक्ष पनि देखियो। एमालेका केन्द्रीय सदस्य रहेका ज्ञवालीलाई कार्यक्रम सञ्चालन गरिरहेका रास्वपाका दुवै महामन्त्रीहरूले पटक–पटक ‘एमाले उपमहासचिव ’ भनेर सम्बोधन गरेका थिए । जबकि ज्ञवाली हाल एमालेको केन्द्रीय सदस्य मात्र हुन् ।
प्रतिक्रिया दिनुहोस