काठमाडौं । जुड बेलिंघमको उत्कृष्ट प्रदर्शनमा इंग्ल्यान्ड फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार बिहान मियामी स्टेडियममा भएको रोमाञ्चक क्वार्टरफाइनल खेलमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को पुनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
प्रतियोगितामा पहिलो पटक क्वार्टरफाइनल पुगेर इतिहास रच्ने दाउमा रहेको नर्वेले खेलको ३६औँ मिनेटमा एन्ड्रियास स्केल्डरअपको गोलमार्फत अप्रत्यासित अग्रता लिएको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा जुड बेलिंघमले गोल गर्दै इंग्ल्यान्डलाई खेलमा फर्काए ।
दोस्रो हाफमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको सुरुवातमै अर्थात् खेलको ९३औँ मिनेटमा बेलिंघमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को निर्णायक अग्रता दिलाए । त्यसपछि खेलमा थप गोल हुन सकेन र इंग्ल्यान्ड विजयी भयो ।
यस जितसँगै इंग्ल्यान्ड सन् २०१८ पछि पहिलो पटक विश्वकपको अन्तिम चारमा पुग्न सफल भएको छ । विश्वकप इतिहासमा इंग्ल्यान्ड सेमिफाइनल पुगेको यो चौथोपटक हो। सन् १९६६ को च्याम्पियन इंग्ल्यान्ड यसअघि सन् १९९० र २०१८ मा पनि सेमिफाइनल पुगेको थियो भने सन् २०२२ मा क्वार्टरफाइनलबाटै बाहिरिएको थियो ।
इंग्ल्यान्डले अब फाइनल प्रवेशका लागि अर्जेन्टिना र स्विट्जरल्यान्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।
खेलपछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक थोमस टुचेलले रणनीतिक रूपमा खेल कठिन भए पनि खेलाडीहरूको संघर्ष र समर्पणको प्रशंसा गरे ।
खेलमा हाम्रा योजनाहरूले सोचेजस्तो काम नगर्दा पनि हामीले आफ्नो तर्फबाट सबै थोक दियौं। मलाई टोलीप्रति निकै गर्व छ । यो जित सबैको हो, यसमा सम्पूर्ण देशको जित भएको छ,ू मुख्य प्रशिक्षक टुचेलले भने ।
प्रतिक्रिया दिनुहोस