काठमाडौं । सामाजिक सञ्जालमा चर्को आलोचना, शिक्षक समुदायको विरोध र विभिन्न क्षेत्रबाट बढ्दो दबाबपछि गायक दुर्गेश थापाले चर्चित विवादित गीत ‘मास्टर्नी’ आफ्नो युट्युब च्यानलबाट हटाएका छन् ।
गीत सार्वजनिक भएको केही घण्टामै यसको शब्द र प्रस्तुतीकरणलाई लिएर व्यापक विवाद चुलिएको थियो। धेरैले गीतले शिक्षक पेशाको गरिमामाथि चोट पुर्याएको भन्दै आपत्ति जनाए। सामाजिक सञ्जालमा ३च्झयखभःबकतभचलष् अभियान नै चल्न थालेपछि विषय थप चर्चामा आएको थियो।
यता, नेपाल शिक्षक महासंघ ले समेत विज्ञप्ति जारी गर्दै गीत तत्काल नहटाइए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो। त्यसपछि निर्माण पक्षले अन्ततः गीत हटाउने निर्णय गरेको हो।
विवाद बढेसँगै चलचित्र ‘मास्टर्नी’ की निर्माता तथा अभिनेत्री प्रियांका कार्की ले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा क्षमा मागेकी छन्। उनले गीतमा प्रयोग भएका केही शब्द र दृश्यले सम्मानित शिक्षक–शिक्षिका तथा शिक्षा क्षेत्रसँग जोडिएका व्यक्तित्वहरूको भावनामा चोट पुगेको स्वीकार गर्दै आफूबाट कमजोरी भएको बताएकी छन्।
उनले यो आफ्नो पहिलो निर्माण रहेको उल्लेख गर्दै कसैको पेशा, आस्था वा सम्मानमा आँच पु¥याउने उद्देश्य नरहेको स्पष्ट पारेकी छन्। भविष्यमा यस्ता विषयमा अझ जिम्मेवार र संवेदनशील भएर काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेकी छन्।
त्यस्तै, गायक दुर्गेश थापा ले पनि विज्ञप्ति जारी गर्दै ‘मास्टर्नी’ गीत चलचित्रको प्रचार–प्रसारका लागि मात्र तयार गरिएको बताएका छन्। गीतका कारण शिक्षक समुदायको भावना आहत भएको भए आफू हृदयदेखि नै क्षमाप्रार्थी रहेको उनले उल्लेख गरेका छन्।
निर्माण पक्षका अनुसार विवादित गीत चलचित्रको मूल कथामा समावेश गरिएको थिएन। यो केवल प्रचारात्मक सामग्रीका रूपमा तयार पारिएको थियो।
उल्लेखनीय कुरा के छ भने, गीत सार्वजनिक भएको तीन दिनमै चौतर्फी विरोध चुलिएको थियो। शिक्षक मात्र होइन, कलाकार, संगीतकर्मी तथा सर्वसाधारणले पनि गीतका शब्दप्रति असन्तुष्टि जनाएका थिए। सामाजिक सञ्जालमा लगातार आलोचना बढेपछि अन्ततः निर्माण पक्ष गीत हटाउन र सार्वजनिक रूपमा माफी माग्न बाध्य भएको हो ।
प्रतिक्रिया दिनुहोस