कोरोना महामारीबाट विस्तारै तंग्रिन खोजिरहेको अर्थतन्त्र फेरी सुस्त भएको छ । अर्थतन्त्र सुस्त भएपछि अहिले निजी क्षेत्र पनि कमजोर हुन पुगेको छ । यही बेलामा निजी क्षेत्रमाथि विभिन्न क्षेत्रबाट बारम्बार प्रहार भइरहेका छन् ।
यसले नेपालमा लगानी प्रवद्र्धन, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रको विकास एवं विस्तारमा नकारात्मक प्रभाव परिरहेको छ । अर्थतन्त्रमा ८१ प्रतिशत योगदान रहेको निजी क्षेत्र राज्य, राजनीतिक दल र विभिन्न समूहबाट भइरहेको प्रहारबाट प्रताडित बनेको छ ।
धार्मिक संस्कृति जोगाउ अभियानका नाममा केही पहिचानवादीहरुले अहिले पाथिभरामा केबुलकार बनाउन नदिएर लगानी रोक्ने काम गरेका छन् ।
यही माघको पहिलो सातादेखि केबुलकार पूर्वाधार निर्माण सुरु भएपछि पहिचानवादीहरुको नाममा आन्दोलन सुरु भयो ।
पहिचानवादीको आन्दोलन सुरु भएपछि सरकारले वार्ता समिति बनायो । पहिचानवादीसँग पहिलो चरणको वार्ता भइरहेको छ । यसपटक केबुलकार परियोजना निर्माण अघि बढाउन राज्यले अग्रसरता लिएको देखिन्छ । स्थानीय तह र स्थानीय बासिन्दाहरु केबुलकार बन्नुपर्छ भन्ने पक्षमा छन् ।
केबुलकार बन्न दिनु हुँदैन भनेर बाह्य हस्तक्षेपसहित निर्माण कार्यमा अवरोध हुनुलाई दुःखद मात्र नभई विकासको प्रवाहलाई रोक्ने प्रयासका रुपमा लिएको छ ।
पाथिभरा मुक्कुम्लुङ धार्मिक आस्थाकाे केन्द्रविन्दु हो । केबुलकार बनाउँदा धर्म, संस्कृति, मूल्य तथा मान्यता र वातावरणलाई असर पर्न दिनुहुँदैन भन्ने कुरामा दुईमत हुन सक्दैन । प्रतिष्ठित व्यवसायिक घरना आइएमईले सात वटै प्रदेशमा कम्तिमा एउटा केबुलकार बनाउने तयारी गरेको छ । काठमाडौंको चन्द्रागिरी, मौलाकाली र बुटबलमा केबुलकार सञ्चालन भइरहेको छ भने पूर्वको पाथिभरा र सुदुरपश्चिममा जाल्पादेवी केबुलकार निर्माण सुरु भएको हो ।
केबुलकार परियोजना आएपछि पर्यटन पूर्वाधारको विकासका साथै रोजगारी सिर्जना र अर्थतन्त्रलाई टेवा दिनेछ । आइएमई ग्रुपले पाथिभरा केबुलकार परियोजना बनाउन ३ अर्ब रुपैयाँ बढी लगानी गर्दैछ भने त्यहाँ ठूलो लगानीमा होटल खोल्नुका साथै ठूलो संख्यामा धार्मिक पर्यटक आउने देखिएको छ ।
धार्मिक पर्यटक आउने भएपछि त्यस क्षेत्रका बासिन्दाले रोजगारी पाउने र समग्र ताप्लेजुङमा आर्थिक गतिविधि बढ्नेछ । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले केबुलकारले स्थानीयलाई रोजगारी दिने प्रत्याभूति दिँदै आएका छन् । तर, पनि निजी लगानीको मूल मर्मलाई नै प्रहार गर्ने खालका विकृत अभ्यासबाट समाज मुक्त हुनैपर्छ । आमनागरिकमा निजी क्षेत्रको अपरिहार्यताको बोध गराउने मूल दायित्व राजनीतिक दलको पनि हो ।
एकातिर राजनीतिक अभीष्ट पूरा गर्न निजी क्षेत्रमाथि आक्रमण भइराख्दा निजी क्षेत्रको विकासलाई अरु पछाडि धकेल्ने निश्चित छ ।
अभियन्ताको नाममा नकारात्मक सामाजिक उत्तेजना निर्माण गरिएको छ, यो ती मानिसहरूको गल्ती हो । धर्म र संस्कृतिको नाममा इमोश्नल मुद्दा बनाएर त्यसको बजारीकरण गर्न खोजिएको छ । यसले दूर्भाग्यपूर्ण परिणाम निर्माण भएको छ ।
किराँतको पहिचान पाथिभरामा केबलकार लगेर संसारभर फैलाउँदा सकिन्छ । किराँतको क्षेत्रमा सबै क्रसवाला चिहान निर्माण हुँदा पहिचानमा प्रश्न लाग्छ कि पाथीभरामा केबलकार लैजाँदा प्रश्न लाग्छ ? अहिले वैश्व युग हो अर्थात पैसा बोल्ने समय पनि हो । मक्का मदिनामा पनि पैसा बोल्छ र भ्याटिकनमा पनि पैसा बोल्छ । पाथीभरामा पनि पैसा बोल्नुपर्छ ।
दक्षिण भारतको २५ करोड हिन्दुहरूमा बजार विस्तार गरेर ठुलो आर्थिक चक्र निर्माण गर्ने योजना पाथिभरा केबुलकार नै हो ।
केबुलकार बनाउन नदिनु भनेको ताप्लेजुङमा विकास आउन नदिनु हो । केही गरी यो योजना फिर्ता भयो भने अभियान सञ्चालन गर्ने मानिसलाई त्यहीँका जनताले नराम्रो गरी दण्डित गर्ने नै छन् ।
राजनीतिक अभिष्ट पूरागर्ने उद्देश्यले समस्या समाधान भन्दा वित्तीय अनुशासनहिन गतिविधि गर्ने समूह पनि बजारमा देखिएका छन् । जुन हाम्रो अर्थतन्त्रलाई दूरगामी असर पर्ने किसिमका छन् । तर, यसका बाबजुद राज्यको नैराश्यजनक अर्थनीति तथा मौद्रिक नीतिले निजी क्षेत्रका व्यावसायीहरु पलायनको अवस्थामा पुगेका छन् ।
हिजोका दिनमा राज्यद्धारा सञ्चालित उद्योगधन्दाहरू योजनाबद्ध ढंगबाट बन्द गर्ने मानसिकता बोकेका मानिसहरु निजी क्षेत्रद्धारा सञ्चालित उद्योग, कलकारखाना बन्द गरी अन्य देशका उत्पादनहरूको नियमित ग्राहक बनाइरहेको छन् ।
अध्यक्ष ढकालले सातवटै प्रदेशमा केबुलकार संरचना बनाउन गरेको घोषणाअनुसार काम अघि बढाइरहेका छन् । उनको योजनालाई ताप्लेजुङवासीले साथ दिनुपर्छ । ढकालले राजधानीको चन्द्रागिरीमा, नवलपरासीको गैंडाकोटमा, बुटबलमा केबुलबार बनाएर सञ्चालन गरिरहेका छन् । यस्तै सुदुरपश्चिम प्रदेशमा जाल्पादेवी केबुलकारको निर्माण सुरु भइसकेको छ । आर्थिक गतिविधि सुस्त भएका बेला ढकालले होटलसहितको केबुलकार परियोजना बनाएर लगानीकर्तामाझ उत्साह जगाइरहेका छन् ।
सधैँ गरिब बनाइरहने अनि आफ्नो उत्पादनको व्यापार गरिरहने छिमेकीको कुनियतलाई बढावा दिदैँ आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न चाहने समूहहरुको रजगजले निजी क्षेत्रलाई प्रताडित बनाइरहेको छ । निजी क्षेत्रले लगानी गर्छ अनि राजनीतिक दल र जातीय संगठनका नाममा त्यही निजी क्षेत्रलाई मास्न र सिद्धयाउन खोज्ने काम भइरहेको छ । हेक्का रहोस उद्योग, व्यापार नबचे बैंकिङ क्षेत्रका साथै अर्थतन्त्र पनि रहँदैन ।
विधिको शासनको सुनिश्चितता नहुँदासम्म देशमा औद्योगिक वातावरण बन्दैन । औद्योगिक वातावरणविना वैदेशिक लगानी आकर्षणदेखि रोजगारी सिर्जनासम्म सबै भाषणमै सीमित हुन्छन । यसैले व्यवसायीलाई ढुक्कसँग लगानी गर्न प्रेरित गर्नका लागि पहिले देशमा विधिको शासन सुनिश्चित गर्नुपर्छ ।
यो पनि :
निजी क्षेत्रमाथिको निरन्तर प्रहारले जर्जर बन्दैछ देश
प्रतिक्रिया दिनुहोस