२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

बिहिवार , फाल्गुण २९, २०८१

भक्तपुर ।‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भिमसेनको लिङ्गले मन लोभियोकी, भाग्नु पर्ने गरी हेर्न आको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय मन्दिर अगाडिको भिमसेन मन्दिरको पाटीमा होली पर्वमा गुञ्जने यस्ता गीत अहिले लोपोन्मुख छन् ।

भिमसेन मन्दिरको पाटीमा बसेर फागुन शुक्ल अष्टमीको दिनदेखि पूर्णिमासम्म भिमसेन गुठीका गायजुले यस्ता गीत गाएर होलीको आगमनसँगै विदाइ गर्ने प्रचलन थियो । तर अहिले कतिपय स्थानीयलाई फागुसँग सम्बन्धित दाफा भजन छ भन्ने हेक्का नै छैन ।

फागुन शुक्ल अष्टमीका दिन मन्दिरमा राखिएको तीन हात लामो ३० इन्च मोटो काठबाट बनेको लिङ्गलाई ब्रम्हायणी खोलामा लगेर स्नान गराई काँधमा बोकेर ब्रम्हायणी, च्यामासिंह, जेँला, इनाचो, बाचुटोल हुँदै, तचपालस्थित दत्तात्रय मन्दिर वरिपरि रहेको घर र पसलमा घुमाउने प्रचलन छ । यसरी घुमाउँदा भक्तजनले स्पर्शगरी ढोग्ने, दान दक्षिणा दिने र साँझ मन्दिरको पाटीमा झुण्ड्याउने परम्परा रहे पनि लिङ्गलाई टोलटोलमा घुमाउने प्रचलन हराउँदै गएको छ ।

नेवारी परम्पराअनुसार यसलाई चिर स्वायगू अथार्त लिङ्ग घुमाएपछि यहाँ फागु सुरु हुने परम्परा छ । ‘झ्यालय् च्वंगु तुकं मा, वहे ल्यासे जितः माः, व ल्यासे मदयकं जा हे मनया’ अर्थात झ्यालभरि तोरीको माला छ, त्यही तरुनी मलाई चाहिन्छ, त्यो तरुनी नपाएसम्म भातै खान्नँ भन्ने अर्थ बोकेको गीत गाएर प्रेमको पर्वको रूपमा यो पर्वलाई लिने गरिन्छ ।

यस पर्वमा गाइने ‘अबिरया होली तंचाया ला ल्यासे, अबिरं छगुं ख्वाः हिसि दयेका बी’ अर्थात अबिरको होली, रिसायौ कि तरुनी, अबिरले तिम्रो मुहार हिस्सी बनाइदिउँ कि’ जस्ता अर्थ बोकेको नेपाल भाषाका दाफा भजनले प्रेम दर्शाएको पाइन्छ । होलीको दिन आफूलाई मन परेको युवतीलाई भजनबाटै प्रेम प्रस्ताव राख्ने प्रचलन लोप भइसकेको छ ।

भिमसेन गुठीले परम्परादेखि होलीलाई प्रेम र यौन पर्वसँग दाँजेर मनाउदै आएकोे छ । गुठीले हरेक वर्ष फागुन शुक्ल अष्टमीको दिनदेखि फागु पूर्णिमासम्म भिमसेन मन्दिरमा भिमसेनको लिङ्ग र द्रौपदीको योनिको प्रतीकलाई झूण्ड्याएर यौन समागमको प्रतिबिम्ब चित्रण गरेको छ । सातदिनसम्म लिङ्ग र योनिको पूजा एवं दर्शन स्थानीयले गर्ने गरेका छन् ।

भिमसेन र द्रौपदीको यौन सम्बन्धका प्रतिकलाई यहाँका बासिन्दाले विकृतिको रूपमा नभई साँस्कृतिक महत्वको रूपमा संरक्षण गर्दै आएका छन् ।

यहाँ दर्शन गर्न आउनेले भीमसेनको लिङ्ग हल्लाउने गर्छन् । एक सातासम्म स्थानीय बासिन्दा द्रौपदीको योनिमा भीमसेनको लिङ्ग घचेटेर ढोग्ने गर्छन् । काठको लिङ्गको टुप्पोमा कपास झुन्ड्याउने गरिन्छ । यहाँ दर्शन गर्न आउनेले लिङ्ग र योनिको समागम गराउँदा कपासलाई वीर्यको प्रतिको रूपमा लिन्छन् । यसरी दर्शन गर्दा पारिवारिक सुख, दीर्घायु मिल्ने र व्यापार वृद्धि हुने जनविश्वास छ ।

यसलाई हेर्दा अश्लिलता प्रर्दशन गरे जस्तो देखिएपनि भक्तपुरका बासिन्दाले धार्मिक मान्यताका रूपमा लिँदै आएका छन् । आज बिहानै भिमसेन र काठको लिङ्ग दर्शन गर्दै स्थानीय ६९ वर्षका विष्णुभक्त श्रेष्ठले भिमसेनको लिङ्ग दर्शन गरेमा व्यापार बढ्ने विश्वास रहेको बताउनुभयो । यो लिङ्गको दर्शन गर्न महिला पुरुष पूर्णिमाको दिनसम्म हरेक दिन विहान आउने गर्दछन् । लिङ्गको दर्शन गरेर भेटी चढाउने गरेका छन् ।

भक्तपुरका इतिहास एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ यो पर्वलाई धार्मिक, साँस्कृतिक र सामाजिक पर्वको रूपमा परापूर्वकालदेखि मनाइँदै आएको बताउँछन् । “यहाँ जीवन छ, त्यसैले उत्सव छ, अनि उत्सव छ र त जीवन छ”, उनले भने, “वर्षौदेखि यहाँ प्रेम र यौनको प्रतिकका रूपमा होली पर्व मनाउँदै आइएको छ ।”

मन्दिरमा झुड्याइएको काठको लिङ्ग भिमसेनको प्रतिकको रूपमा रहेको बताउदै उहाँले यसलाई प्रेम र यौनसँग जोडेर हेर्नुपर्ने बताए ।

चिर स्वायगू अथार्त लिङ्ग झुन्ड्याएपछि यहाँका नेवार समुदाय भिमसेन मन्दिरमा गई गुठी भोज खाने गर्दछन् । यसलाई भिमसेनको प्रतीक मानिएकाले व्यापारीले यसको दर्शन गर्ने परम्परा रहँदै आएको छ ।

फागुपूर्णिमाका दिन साँझ दत्तात्रय मन्दिर अगाडिको भिमसेनको मन्दिरबाट लिङ्ग निकाली काँधमा बोकेर ब्रम्हायणी मन्दिरस्थित खोलामा लगेर पखाल्ने र पुनः मन्दिरमा राख्ने परम्परा छ । त्यसपछि होली समाप्त हुने गर्दछ ।

यसरी मन्दिरबाट खोलासम्म लिङ्ग बोकेर लैजाने व्यक्तिको त्यसवर्ष छोरा जन्मन्छ भन्ने विश्वास गरिन्छ । नेसं ७८१ र ७९२ मा लेखिएका होलीसम्बन्धी गीत अझै गाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट