काठमाडौं। नेपाल चेम्बर अफ कमर्सको ७४औं वार्षिक साधारणसभामा 'बिहारीलाल खेतान मेमोरियल अवार्ड' बाट व्यवसायी कुमार दाहाल सम्मानित भएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालको (ट्रेड लजिस्टिक्सतर्फ) बाट पहिलोपटक दाहाल सम्मानित भएका हुन्। दाहाललाई प्रधानमन्त्री ओलीसंगै उद्योग मन्त्री दामोदर भण्डारी र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए ।

सांग्रिला अर्गनाइजेसन अध्यक्ष समेत रहेका दाहालले नेपालको निर्यात प्रबर्धन तथा लजिस्टिक्स क्षेत्रको नीति निर्माणमा सक्रिय योगदान पुर्याएको भन्दै चेम्बरले बिहारीलाल खेतान मेमोरियल अवार्डबाट सम्मान गरेको हो।
स्थल, जल तथा हवाइमार्गमार्फत हुने आयात तथा निर्यातका लामो समयदेखि सक्रिय उनी काम र अनुभवले नेपालमा लजिस्टिक्स विज्ञको रूपमा समेत परिचित छन् ।
सांग्रिला अर्गनाइजेशन अन्तर्गतको सांग्रिला इन्टरनेशनल फ्रेट कम्पनी ख्यातिप्राप्त अन्तराष्ट्रिय लजिस्टिक्स कम्पनी डीएसभीको नेपाल प्रतिनिधि हो जसले संसारभरि ढुवानी र त्यससम्बन्धी लजिस्टिक्स सेवाहरू प्रदान गर्छ ।

चेम्बरको सिफारिसमा देशकै प्रधानमन्त्रीको हातबाट आफुलाई सम्मान गरेकोमा लामो समयदेखि गरेको अथक मिहनेतको सम्मानको रूपमा लिएको बताउंदै दाहालले नेपालको लजिस्टिक्स क्षेत्रको भविष्य सुखद रहेकोले त्यसका लागि अझै आवश्यक नीति निर्माण र सुधारमा आफू अनवरत लागिरहने प्रतिबद्धता समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस