अष्ट्रेलिया – एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) ओसियानाका क्षेत्रीय संयोजक इरशाद अहमद र उप–संयोजक प्रताप रानालाई अष्ट्रेलियास्थित नेपाली राजदूतावासद्वारा आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ।
अष्ट्रेलियाको राजधानी क्यानबेरामा आयोजित कार्यक्रममा नेपालका लागि नेपाली राजदूत महामहिम चित्रलेखा यादवले अहमद र रानालाई स्वागत गर्दै सम्मान प्रदान गर्नुभएको हो। कार्यक्रममा राजदूत यादवले एनआरएनए आईसीसीले नेपाली समुदायको हितमा पुर्याउँदै आएको योगदानको सराहना गर्दै आगामी दिनमा संस्थालाई अझ सक्रिय र प्रभावकारी बनाउँदै लैजान आग्रह गर्नुभयो।
राजदूत यादवले लाखौं नेपालीको बसोबास रहेको अष्ट्रेलियामा एनआरएनए आईसीसीले विगतमा खेलेको भूमिकालाई स्मरण गर्दै संस्थाले अझ व्यवस्थित ढंगले काम गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
सो अवसरमा संयोजक अहमद र उप–संयोजक रानाले एनआरएनए आईसीसीको गौरवपूर्ण इतिहासलाई जगेर्ना गर्दै संस्थाको प्रगतिको लागि निरन्तर प्रतिबद्धताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
सञ्जोगवश, सोही दिन राजदूत यादवको जन्मदिन पनि परेको हुँदा, एनआरएनए टोलीले दूतावास परिसरमै केक काट्दै राजदूत यादवको जन्मदिन मनाएको थियो।
कार्यक्रममा जनसम्पर्क समिति अष्ट्रेलियाका वरिष्ठ उपाध्यक्ष ईथन शाक्य, जनसम्पर्क समिति न्यु साउथ वेल्स राज्यका उपाध्यक्ष सक्षम सुवेदीलगायतको उपस्थिति रहेको थियो।
प्रतिक्रिया दिनुहोस