२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

नेवार समुदायको सांस्कृतिक पहिचान झल्कने बर्खे नाच सुरु

बुधवार , श्रावण १४, २०८२

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा नेवार समुदायको तीन सय वर्ष पुरानो सांस्कृतिक पहिचानको रुपमा रहेको बर्खे नाच सुरु भएको छ ।

पहिलो दिन लाखे नाच प्रदर्शन गरिएको छ । करिब तीन सय वर्षअघि भक्तपुरबाट नेवार समुदाय बेनीमा आएसँगै बेनीमा नेवार संस्कृतिको अभिन्न अङ्ग मानिएको वर्षे नाच भित्रिएको जानकारहरु बताउँछन् । यसरी बेनीमा भित्रिएको बर्खे नाचअन्तर्गत हरेक वर्षको नागपञ्चमीका दिनदेखि बेनीमा विभिन्न नाचका साथै लाखे नाच देखाउने गरिन्छ । नेपाल भाषा मंकाखलको आयोजना तथा यूवा सङ्गठन ल्यामपुचको व्यवस्थापनमा सदरमुकाम बेनीबजारमा लाखे नाच सुरु गरिएको हो ।

घण्टाकर्ण चतुर्दशीका दिन परापूर्वकालमा समाजमा दुःख दिएको र विकृति फैलाएको भनिएको घण्टाकर्ण नाम गरेको राक्षसको प्रतिमालाई म्याग्दी नदी र कालीगण्डकीको दोभानमा लगेर विसर्जन गरिएपछि बेनीमा बर्खे नाच भएको हो । पति वियोगमा विक्षिप्त बनेकी घण्टाकर्णकी श्रीमतीको चरित्र लाखे नाचमा प्रदर्शन गरिन्छ । ठूलाठूला आँखा भएकी, दाह्रा निस्केकी, जगल्टा फिँजाएकी स्वरुपकी घण्टाकर्णकी श्रीमतीलाई लाखेको सङ्ज्ञा दिएर प्रदर्शन गरिने यो नाच बेनीमा प्रसिद्ध छ ।

हरितालिका तीजको दिनसम्म देखाइने विभिन्न नाचलाई बर्खे नाच भनिन्छ । साउन १३ गतेदेखि सुरु भएको बर्खे नाचअन्तर्गत भदौ १० गते हरितालिका तीजको दिनसम्म विभिन्न नाच देखाउने तयारी भएको नेपाल भाषा मंकाः खलः अन्तर्गतको ल्यामपुचःका पूर्वअध्यक्ष एवं उद्योग वाणिज्य सङ्घ म्याग्दीका अध्यक्ष सुविन श्रेष्ठले बताए । यही साउन ९ गते घण्टाकर्ण चतुदर्शीका दिन दानवको प्रतीक घण्टाकर्णको प्रतिमालाई कालीगण्डकी नदीमा विर्सजन गरेपछि बर्खे नाचका लागि तयारी सुरु गरिएको थियो ।

बेनीमा लाखे नाच, जोगी नाच, नागनागिनी नाच, श्रीकृष्ण रथयात्रासहित विविध नाच देखाइने गरिन्छ । जनशक्तिको अभाव हुन थालेपछि रोपाइँ नाच, हनुमान नाचलगायत धेरै जनशक्ति भएका नाचहरु भने नियमित हुन सकेका छैनन् । बर्खे नाचको सुरुवात लाखेको पति अर्थात् घण्टाकर्ण नामक राक्षसको पुत्ला दहन गरेर हुन्छ भने तीजको दिन साँझमा दानवीय स्वरूपको लाखेलाई भगवान् श्रीकृष्णरुपी शक्तिले बध गरेपछि यो नाचको अन्त्य गरिन्छ ।

हिन्दू धर्म ग्रन्थमा वर्णित द्वापरयुगमा भगवान् श्रीकृष्ण र उनका मामा कंशबीचको लडाइँको अभिनय गरी यो नाच नाच्ने गरिन्छ । नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको चलन राजा गुणकामदेवले सुरु गरेको बताइए राजा प्रताप मल्लका पालादेखि मुकुट लगाएर लाखे नाच्ने गरिएको नेवार समुदायका अगुवाले बताएका छन् ।

बर्खे नाचअन्तर्गत लाखेनाच, घोडानाच, नागानागीनी नाच, श्रीकृष्ण र रथयात्रासहित विविध नाच देखाइने नेपाल भाषा मंका खलःका उपाक्ष्यक्ष कुबिरकुमार श्रेष्ठले बताए। बर्खे नाचअन्तर्गत जनैपूर्णिमाको दिन र भोलिपल्ट वर्षभरिमा दिवङ्गत भएका व्यक्तिको घरबाट उनीहरुको सम्झनामा सापरु अर्थात नागानागीनी नाच निकाल्ने चलन छ । बेनी बजारमा बस्ती बसेदेखि नै नेवार समुदायको सक्रियतामा बर्खे नाच देखाउँदै आएको पाइन्छ ।

ऐतिहासिक महत्व बोकेको यो नाचमा पछिल्लो समय बेनीका युवाले सक्रियतापूर्वक सहभागिता जनाउने गरेका छन् । घण्टाकर्ण पर्वको अवसरमा बेनीस्थित संगम चोकमा घण्टाकर्णको आकृति बनाएर बजार परिक्रमा गरी म्याग्दी र कालीगण्डकी नदीको दोबानमा लगेर बिसर्जन गर्ने परम्परा छ ।

तीजको दिनमा दानवीयस्वरुपको लाखेलाई भगवान श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित यो नाच सकिने प्रचलन रहेको नेपाल भाषा मंका खलःका उपाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट