२०८३, जेठ २१ गते

बिहिवार, जेठ २१ गते २०८३

समाजसँग लड्दै सपना पूरा गरेकी सावित्रा

बुधवार , श्रावण १४, २०८२

विराटनगर । सावित्रा दाहाल अहिले आफ्नो विगत सम्झँदा जीउमा काँडा उम्रन्छन् । मोरङको बयरवनमा जन्मेकी उनी १८ वर्षको कलिलो उमेरमै भागेर अन्तरजातीय विवाह गरिन् ।

विवाहसँगै उनका लागि नयाँ जीवनको ढोका खुले जस्तो लाग्यो, तर त्यो ढोका खुलेसँगै माईतीको ढोका भने बन्द भयो ।

विवाहपछि उनी श्रीमानसँग काठमाडौं बसिन् । काठमाडौं बसाइको तीन वर्षमै छोरो जन्मियो । तर गाउँको मायाँले तान्यो र उनी फर्केर गाउँ गइन् । दुई वर्ष गाउँमै बिताइन्, तर माईतीको घर नजिकै हुँदा पनि त्यहाँ टेक्ने अनुमति थिएन । यो पीडा उनले मौन रूपमा सहिन् ।

श्रीमान् रोजगारीका लागि साउदी गएका थिए । छोरो चार वर्षको हुँदा सावित्राले महसुस गरिन् घरमा बसेर केही हुँदैन, केही गर्नुपर्छ । त्यसपछि गाउँबाट शहरको बाटो समातिन् । छोरो सानो हुँदा पनि उनले आत्मनिर्भर बन्ने दृढ संकल्प गरिन् ।

विराटनगरमा आएर ब्युटिपार्लर तालिम लिइन् । छ महिना सिकेपछि साथीसँग मिलेर सानो ब्युटिपार्लर खोलिन् । कमाइ राम्रै थियो, छोरो स्कुल जान थाल्यो । तर चुनौती सकिएका थिएनन् । श्रीमान् टाढा, बच्चा सानो, अनि समाजको प्रश्न – “के खान्छे, कहाँ जान्छे, के गर्छे?” । समाजले दिएको नजरको भारी बोकेरै पनि उनले आफ्नो बाटो छाडिनन् ।

जीवनको अर्को मोडमा उनले अझ ठूलो आँट गरिन् – एक्लै ब्युटिपार्लर सञ्चालन गर्ने । त्यसका लागि विराटनगर–२, सोमबारेमा पसल खोजिन् । संयोगवश त्यही बेला श्रीमान् साउदीबाट केही समयको विदामा फर्किए । श्रीमानको साथले हौसला थपियो र उनले सञ्चालनमा रहेको सोमबारे चोकको पुरानो ब्युटिपार्लर २ लाख रुपैयाँमा किनिन् ।

श्रीमानको विदा सकिएपछि उनी फेरी साउदी गएका थिए । उनी बच्चा र व्यवसाय दुवैको जिम्मेवारी एक्लै धान्न बाध्य भइन् । तर हार मानिनन् । पसल चलाउँदै गर्दा दोस्रो सन्तानको रुपमा छोरी जन्मिइन् । एक छोरी र एक छोरालाई हुर्काउँदै उनले आफ्नो व्यवसायलाई निरन्तरता दिइन् ।

दिन बित्दै गयो । समयसँगै परिस्थिति पनि केही सहज हुँदै गयो । श्रीमान् अन्ततः साउदी छोडेर नेपाल फर्किए । अहिले उनी साथीहरुसँग मिलेर फर्निचर पसल चलाइरहेका छन् । छोरो क्यानडामा उच्च शिक्षा लिइरहेको छ भने छोरी कक्षा सातमा पढ्दै छिन् ।

सावित्राको जीवन यात्रा संघर्षमय भए पनि प्रेरणादायी छ । १४ वर्षदेखि निरन्तर ब्युटिपार्लर व्यवसाय सञ्चालन गर्दै आएकी उनी भर्खरै पसलको १४ औं स्थापना दिवस मनाएर अझ उत्साहित छिन् । उनले भोगेको संघर्ष, आँट र अडान आज अरुका लागि पनि उदाहरण बनेको छ ।

उनको अनुभवमा अन्तरजातीय विवाह गरेर समाजमा टिक्नु सजिलो थिएन । तर आत्मविश्वास र परिश्रमले उनलाई नटुट्ने बनायो । उनी भन्छिन्, “कसैले गर्देला भनेर पर्खिनु हुन्न, आफैं आँट गरेर गर्नुपर्छ । संघर्षमा एक्लै भइन्छ, तर सफलतामा भने सबै साथमा आउँछन् ।”

सावित्रा दाहाल आफ्नै क्षेत्रमा सफल व्यवसायी मात्र होइनन्, आफ्ना छोराछोरीका लागि आदर्श आमा, श्रीमान्का लागि भरपर्दो जीवनसंगीनी र समाजका लागि प्रेरणाको स्रोत बनेकी छन् । उनका लागि पैसा कमाउनु मात्र महत्वपूर्ण होइन, आत्मसम्मान र आत्मनिर्भरता अझ महत्वपूर्ण छ ।

‘परिस्थिति जस्तोसुकै कठोर किन नहोस्, आँट र मेहनतले जीवनलाई सफलतातर्फ मोड्न सकिन्छ’, उनले भनिन् । संघर्षको बाटो सजिलो हुँदैन, तर त्यस बाटोबाट हिँड्नेहरू नै अन्ततः अरुलाई बाटो देखाउने प्रेरणादायी पात्र बन्छन् भन्ने उदाहरण दाहाल बनेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ