२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

बागलुङमा बर्खेजात्राको रौनक

बुधवार , श्रावण २८, २०८२

बागलुङ । 

असारे मासको दबदबे हिलो छुनलाई घिन लाग्यो,

पातली नानीलाई फरिया किन्दा छ बिसे रिन लाग्यो !

बागलुङ बजारमा नेवार समुदायले निकालेको रोपाइँजात्राका महिलाको भेषमा सजिएका पुरुषले गाएको गीतको अंश हो यो । उनीहरु मुखियाको खेत रोप्न आएका रोपारहरू अवस्थामा सजिएका छन् । केही पुरुषहरु भने बाउँसेको भूमिकामा छन् ।

बागलुङ बजारमा अहिले दैनिक जसो नेवार समुदायको जात्रा हेर्न पाइन्छ । यहाँको पुरानो नाचमध्येका लाखे, होवा, घोडा, रोपाइँजस्ता विभिन्न नाच दैनिकजसो प्रदर्शन भइरहँदा बजार क्षेत्र अहिले गुल्जार छ । घण्टा कर्णको अघिल्लो दिन लाखेनाच देखाएर सुरु भएको जात्रा आगामी भदौ ११ गतेसम्म चल्ने छ । बर्खे जात्राको रुपमा भने गाईजात्राको दिनबाट लिने गरिएको छ ।

नेवार समुदायको लोपोन्मुख संस्कृतिका रुपमा रहेको नाच पछिल्लो समय बागलुङका नेवार समुदायले संरक्षित गर्दै आएका छन् । बर्खे जात्रा संरक्षणमा युवा पुस्ताले चासो देखाउन थालेपछि विभिन्न नाचहरु थप रोमाञ्चित भएका छन् । बागलुङको बर्खेजात्रा २३९ वर्षभन्दा पुरानो रहेको नेवारी समुदायका जानकार बताउँछन् ।

बर्खे जात्रा नाचअन्तर्गत पर्ने अन्य केही नाच भने खर्चिला भएकाले देखाउन छोडिएको बताउँदै अहिले लाखे, कटुवाल, रोपाइँ, जोगी, घोडा, होवालगायत नाचहरू प्रदर्शन गरिनेछ । अहिलेसम्म लाखे, कटुवाल, होवा र रोपाइँ नाच प्रदर्शन गरिसकेको छ । नेपाल भाषा मंका खलःको आयोजनामा अन्य पाँच संस्थाको समन्वयमा बर्खेजात्रा सञ्चालन गरिएको छ ।

नेवारी संस्कृति संरक्षणमा कठिन भए पनि युवापुस्ताको सक्रियतामा बर्खे जात्रालाई निरन्तरता दिइरहेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताए। “केही खर्चिला नागनागिनी, शिखारी र थेतर नाच लोप भइसके तर अन्य नाचलाई निरन्तरता दिएका छौँ”, भारीले भने, “युवा पुस्तालाई सक्रिय बनाउदा सहज भएको छ, नत्र खर्च र व्यवस्थापनका हिसाबले निकै समस्या छ, संस्कृतिको संरक्षणमा नेवारी समुदाय एकजुट बनेको छ ।”

वि.सं १८४३ अघि नै बागलुङमा व्यापारको सिलसिलामा नेवार समुदाय आएर बसोबास गरेको लिखित दस्तावेजका आधारमा उक्त नाच नेवार समुदायअन्तर्गत पर्ने स्थानीय काजी गाउँले श्रेष्ठले बताए । “शिखारी, थेत्तर र नागनागिनी नाच बढी खर्चिलो भएकाले देखाउन छोडिएको छ, अन्य केही भदौरे अर्थात बर्खेनाच संरक्षित छन्”, उनले भने, “नेवार जातिका कला संस्कृतिअन्तर्गत धेरै नाच आर्थिक हिसाबले खर्चिला छन्, जुन बचाउनै गाह्रो छ, युवा पुस्ताको चासो भएकाले सहज भएको मात्रै हो ।”

बर्खेजात्राका कारण बागलुङ बजार क्षेत्रमा रौनक छाएको जनाउँदै श्रेष्ठले बजेट अभावले तीन वर्षमा देखाउने हनुमान नाच नौ वर्षमा देखाएको बताए । पछिल्लो समय युवाले चासो देखिएका कारण लोप हुन थालेका कतिपय नाच पुनःदेखाउन थालिएको उनको भनाइ थियो । नेवार समुदायले अहिले देखाइरहेका भदौरे नाचहरू अन्य जातजातिले रोचक मानेर हेर्ने गरेका छन् । यस नाचलाई भदौरे नाच भन्ने गरिएको छ ।

नेपाल भाषा मंका खलले संयोजन गरे पनि जोगी नाच शाक्य कल्याण समाजको अगुवाइ, कटुवाल, घोडा र रोपाइँ नाच नेवा ल्याम्ह पुचको सक्रियतामा देखाइँदै आएको छ ।

भदौरे नाचअन्तर्गत लाखे नपर्ने भए पनि बर्खे वरपरमा लाखे नाच प्रदर्शन भइरहेको अगुवा नेवार समुदायले बताउँदै आएका छन् । घण्टाकर्ण चतुर्दशीदेखि हरितालिका तीजको दिनसम्म विभिन्न नाच प्रदर्शन भइरहने शाक्य कल्याण समाजले जनाएको छ । वर्खामा बागलुङका सडक, चोक र बस्ती संस्कृतिमय बन्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट