२०८३, आषाढ ४ गते

बिहिवार, आषाढ ४ गते २०८३

विस्तृत शान्ति सम्झौताका २० वर्ष बितिसक्दा पनि तत्कालीन द्वन्द्व पीडितले न्याय नपाएकामा चिन्ता

आइतवार , भाद्र १५, २०८२

कञ्चनपुर । कृष्णपुर नगरपालिका–६ बालुवाफाँटाका सनम चौधरी आज पनि बुबा फर्केर आउने आशामा छन् । पच्चीस वर्ष बितिसक्दा पनि उनका बुबा तारानाथ चौधरी घर फर्किएका छैनन् । तत्कालीन द्वन्द्वकै समयमा डकर्मी (मजदुरी) काम गरिरहेका उनी बेपत्ता भएका थिए।

तत्कालीन समयमा नौ वर्षका रहेका सनम अहिले पनि बुबाको अनुहार झलझल्ती सम्झिन्छन् । उनी भन्छन्, “द्वन्द्व समाप्त भएको दुई दशक बढी बितिसक्यो तर बुबा कहिल्यै फर्कनुभएन ।” घरको कमाउने एक्लो सदस्य हराएपछि १२ वर्षकै उमेरदेखि उनीले हलो जोत्ने कार्यमा लाग्नुपर्यो । त्यसैले विद्यालय पढ्ने अधिकारबाट वञ्चित हुनुपर्यो, बीचमै विद्यालय छाड्नुपरेको दुखेसो उनी पोख्छन् ।

कृष्णपुर नगरपालिका–३ का लक्ष्मी चौधरीको पीडा पनि सनमकै जस्तै छ । उनका छोरी घरबाटै रहेको वेपत्ता भए । “बूढाबूढी रोगी छौँ, सहारा कोही छैन”, उनले गहभरि आँसु पार्दै भनिन्, “घरको एक्लो छोरी बेपत्ता पारिएपछि नदीको बीच धारमा फसेजस्तो छ, न यता जान सक्छौँ न उतातिर ।”

बेलौरी नगरपालिका–४ का दीपक चौधरीका भाइ भागिराम चौधरी २०५९ सालमा बेपत्ता भएका थिए। दीपक भन्छन्, “ तत्कालीन विद्रोही भएको आरोप लगाइयो, तर भागिराम कुनै पनि गतिविधिमा संलग्न थिएनन्, कसैले सुराकी गरेकै कारण निर्दोष भाइलाई लगेर बेपत्ता पारियो ।”

यस्तै, बेलौरी नगरपालिका–१० भुडाका जीतबहादुर चौधरीका बुबा सन्तराम चौधरी घाँस काट्न खेत गएका बेला बेपत्ता भएको परिवार बताउँछ । जीतबहादुर भन्छन्, “चाडपर्व आउँदा अझ बढी बुबाको सम्झना आउँछ, बाटोमा बुबा आइपुग्छन् कि भनेर अझै पर्खिरहेकी आमा सपनामा समेत बुबालाई देख्छिन्, तर विडम्बना, निद्राबाट उठ्दा बुबा छैनन् भन्ने यथार्थ झन् पीडादायी हुन्छ ।

यसरी बेपत्ता पारिएका नागरिकका परिवारलाई न्याय दिन भनेर सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्यो । तर यी दुवै आयोग वर्षौँसम्म पीडितका उजुरी विवरण सङ्कलन गर्ने काममै सीमित रहे । न्यायका लागि द्वन्द्वपीडित समाज नेपाल, जिल्ला कार्यसमितिका अध्यक्ष जीतबहादुर चौधरीले दुवै आयोगले आफ्नो ध्येय अनुसार काम गर्न नसकेको गुनासो गर्दै दलगत भागवण्डाका आधारमा गठन भएकाले पारदर्शिता र विश्वसनीयता गुमाएको आरोप लगाए ।

“पीडितको प्रतिनिधित्व नै नभएको आयोग पीडितमैत्री हुन सक्दैन”, उनले भने । अहिलेको आयोग पनि भागवण्डाकै आधारमा गठन भएकाले न्याय पाउनेमा उनी आशंका व्यक्त गर्छन् । सहिद तथा बेपत्ता परिवारका पूर्वअध्यक्ष नरेन्द्रप्रसाद चौधरी बारम्बार आयोग गठन हुँदाहुँदै पनि पीडितले न्याय नपाएकामा चिन्ता व्यक्त गर्छन् । उनका अनुसार निकै सङ्घर्षको बलमा सरकारबाट बेपत्ता पारिएका व्यक्तिका परिवारजनलाई राहतस्वरुप १० लाख र परिचयपत्रमात्र हालसम्म उपलब्ध हुनसकेको छ ।

एड्भोकेसी फोरमका वीरबहादुर विष्ट पीडितको प्रत्यक्ष प्रतिनिधित्व हुनेगरी आयोग गठन नगरेसम्म सत्य र न्याय सम्भव हुन नसक्ने तर्क गर्छन् ।

विस्तृत शान्ति सम्झौताका २० वर्ष र संविधान कार्यान्वयनका १० वर्ष बितिसक्दा पनि बेपत्ता पीडितको जीवनमा खासै परिवर्तन आएको छैन । संविधानले परिकल्पना गरेको समानता, न्याय र अधिकार बेपत्ता परिवारका लागि अझै अपूरो सपना बनेको उनी बताउछन् ।

शान्ति सम्झौतामा स्पष्ट प्रावधान राखिएको थियो, ६० दिनभित्र बेपत्ता पारिएका नागरिकको अवस्थाबारे सत्यतथ्य सार्वजनिक गर्ने तर आजसम्म पनि त्यो प्रावधान लागू हुन नसकेको बेपत्ता परिवारका सङ्गीता चौधरी बताउछन् । जिल्लामा ९९ जना बेपत्ता भएको तथ्याङ्क छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट