काठमाडौं । त्रिवेणी ग्रुपका निर्देशक तथा उद्यमी रामचन्द्र संघई नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हुन् ।
निजी क्षेत्र खासगरी उद्यमी व्यवसायीको मुद्धालाई निरन्तर उठाउँदै र साथदिँदै आएका संघईले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
यसै सन्दर्भमा नेपाल उद्योग वाणिज्य महासंघको भावि नेतृत्व, समग्र अर्थतन्त्र र निजीक्षेत्रको सरोकारका बिषयमा संघईसँग गरिएको कुराकानी ।
यही चैत २९ र ३० गते नेपाल उद्योग वाणिज्य महासंघको वार्षिक साधारण सभा हुदैछ, नयाँ कार्य समितिको निर्वाचन पनि हुँदैछ । यसपटकको चुनावमा तपाईंले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । यस विषयमा बताइदिनुस् न ?
जिज्ञासाका लागि धन्यवाद् । हो यही चैत्र २९ र ३० गते नेपाल उद्योग वाणिज्य महासंघको ६० औं बार्षिक साधारण सभा हुँदैछ । यो निजी क्षेत्रको बिषेश पर्व पनि हो । पत्रकार साथीहरुलाइ मेरो के आग्रह छ भने साधारण सभालाई केवल चुनाव र नयाँ कार्यसमिति चयनमा मात्र सिमित नगरिदिनुहोला । यो समग्र निजी क्षेत्रको, नेपालको अर्थतन्त्र र राजनीतिको साथसाथै निजी क्षेत्र र सरकारबीचको सम्बन्धका सम्बन्धमा बिचार विमर्श गर्ने एवं नयाँ मार्गदिशा पैल्याउने महान अवसर पनि हो । चुनाव त केवल एउटा प्राविधिक पक्षमात्र हो भन्ने मलाइ लाग्दछ ।
जहाँसम्म मेरो बिषयको कुरा छ, म लामो समय देखि उद्योग व्यवसायमा संलग्न व्यक्ति हुँ । नेपाल उद्योग वाणिज्य महासंघमा पनि मैले लामै समय विभिन्न भूमिकामा रहेर काम गरिसकेको छु । म महासंघको पूर्व उपाध्यक्ष समेत हुँ । त्यसैले उद्योग वाणिज्य महासंघको चुनावमा मेरो चर्चा परिचर्चा हुनुलाई मैले स्वभाविकरुपमै लिएको छु । म साथीहरुसँग सरसल्लाह गरिरहेको छु ।
महासंघलाई कसरी सबै उद्योगी व्यवसायीको साझा र बलियो संस्था बनाउने भन्नेमा मेरो सधैं जोड रहने गरेको छ । साथीहरुसँगको लामो छलफलपछि मैले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने निश्चित गरेको छु । उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्यमी व्यवसायी नै हुनुपर्छ भन्ने साथीहरुको माग रहेको कैले पाएको छु । वरिष्ठ उपाध्यक्ष निर्वाचित कार्यकारिणी समितिले चुन्ने विधानको व्यवस्था भएकाले पहिले सबै साथीहरु निर्वाचित भएर आएपछि बल्ल वरिष्ठ उपाध्यक्षको चयन प्रकृया अघि बढ्ने छ ।

तपाईँले उद्योग वाणिज्य महासंघमा पुगेपछि उठाउने मुख्य एजेन्डा केके हुन् ?
म जहाँ रहेपनि मैले उठाउने मुद्धा या एजेण्डा भनेको निजी क्षेत्रको सरोकार र भलाइकै बिषय हुन् । निजी क्षेत्रको मनोवल कसरी उकास्ने, लगानी मैत्री वातावरण कसरी तय गर्न सकिन्छ, देशभित्रै रोजगारीको वातावरण कसरी सिर्जना गर्न सकिन्छ ? उद्यमी व्यवसायीलाई हेर्ने हाम्रो जो दृष्टिकोण छ लुट्यो खायो भन्ने । यसमा कसरी वदलाव ल्याउन सकिन्छ ? जोखिम मोलेर उद्यमी व्यवसायीले जो काम गरेका हुन्छन, त्यसको सुरक्षाको ग्यारेन्टी कसरी गर्न सकिन्छ ? सरकार र निजीक्षेत्रबीचको सम्बन्ध सुधार गर्दै आर्थिक समृद्धि हासिल कसरी गर्ने होला ? यी र यस्तै बिषय मेरो मुख्य एजेण्डा हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघको विरासतलाई अझ उँचो राख्न तथा मुलुकभर उद्यम व्यवसायको विस्तार र संरक्षणमा योगदान गर्न थप सक्षम बनाउन संगठनात्मक सुधारको प्रयासलाई तीव्रता दिने मेरो सोच रहेको छ । सचिवालयहरूलाई सुदृढ र सक्षम बनाउने, प्रदेश च्याप्टरहरूको भूमिका थप बढाउने र महासंघका देशैभरका सबै एकाइहरू आफ्नै भवनमा सञ्चालन गर्ने वातावरण तयार गर्ने मेरो योजना रहेको छ ।
महासंघको चुनावमा टिमको अत्यन्तै महत्वपूर्ण भूमिका हुन्छ, तपाइँले कस्तो टिम बनाउँदै हुनुहुन्छ ? र आफुँलाई कसरी फरक बनाउन चाहानुहुन्छ ?
मेरो स्वभावबाटै तपाइहरुले चिनिसक्नु भएकै होला । म कहिल्यै पनि मपाइत्वको भावना भएको मानिस होइन । मलाई यहि पद चाहिन्छ भन्ने मेरो स्वाभाव कहिल्यै छैन र रहदैन पनि । साथीहरुसँग सल्लाह र विमर्श पछि मैले निर्णय लिएको हो । अब साथीहरुले तपाइजस्तो मानिस महासंघमा आवश्यक छ । तपाई यसपटक वरिष्ठ उपाध्यक्ष भईदिनुपर्यो भन्नुभएको छ । म साथीहरुकै प्रतिनिधित्व गरेर महासंघको वरिष्ठ उपाध्यक्ष बन्न लागेको हुँ ।
तपाईँ विजय भएपछि महासंघको लागि योगदान गर्नका लागि कस्ता खालका योजनाहरु बनाउनु भएको छ ?
म महासंघमा कुनै नौलो व्यक्ति त होइन । मैले अघि पनि भनिसक्या छु कि विगतमा पनि मैले महासंघमा रहेर धेरै काम गरिसकेको छु । महासंघको सांगठनिक सुधार र समावेशी प्रतिनिधित्वको सवाल, देशको समग्र आर्थिक सुधार र लगानीको वातावरण तय गर्ने विषय, सरकार र निजीक्षेत्रबीच सुमधुर सम्बन्ध स्थापित गर्ने बिषय र समग्रमा निजीक्षेत्रको हकहित र मनोवल उच्च राख्ने बिषयमै त हो मैले गर्ने योगदान र मेरो योजना ।

महासंघको विधान अनुसार यसपटक वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्दै हुनुहुन्छ । तपाई वरिष्ठ उपाध्यक्षका निर्वाचित हुनुभयो भने अध्यक्ष र महासंघको सिंगो टिमसँग यहाँको सम्बन्ध कस्तो रहला ?
म सधैं टिममा विश्वास गर्ने मानिस हुँ । सबै मिलेर अघि वढ्दा या एकतावद्ध हुँदा नै उद्योगी व्यवसायीका समस्या समाधानको पहल गर्न र आर्थिक क्रियाकलापलाई अघि वढाउन मद्धत मिल्छ भन्ने मलाई लाग्दछ । अध्यक्षको सफलता नै सिंगो टिमको सफलता हो । म अध्यक्षलाई सफल बनाउन उहाँको सहयोगी र सारथी भएर काम गर्न चाहन्छु । हामी एकजुट भएमात्र सरकारसँग हाम्रा जायज मागहरु राख्न पनि सफल हुनेछौँ ।
भदौं २३ र २४ को आन्दोलनपछि निजी क्षेत्र निकै रक्षात्मक भएका छन् । निजित्व र ब्यक्तित्वमाथि जुन प्रहार भयो यसको अलिकति समीक्षा गरिदिनुस् न ?
भदौ २३ र २४ को घटना इतिहासको एउटा अविश्मरणीय क्षणका रुपमा तपाई हाम्रो मनसपटलमा सधैं रहिरहने एउटा दुखद् घटना थियो । त्यति धेरै युवा–विद्याथी मारिए, उहाँहरुप्रति म हार्दिक समवेदना प्रकट गर्न चाहन्छु । हाम्रा त्यति धेरै ऐतिहासिक संरचना जले, ध्वस्त भए । निजी क्षेत्रका पनि धेरै उद्यमी व्यवसायी त्यसको मारमा पर्नुभयो । आन्दोलनका क्रममा झण्डै ८० अर्ब रुपैँया बराबरको निजी क्षेत्रले नोक्सानी व्यहोर्नु पर्यो । यो अत्यन्त दुखद् थियो । खासगरी सुशासन र समृद्धिको नेपाली जनचाहना या अब हामी आजकै अवस्थामा रहन सक्दैनौं है भनेर गरिएको यो एउटा विद्रोह या क्रान्ति थियो त्यो, तर त्यो विध्वंस चाहि सहि थिएन । अब त्यसैको जगमा चुनावमार्फत नयाँ सरकार बनेर जनताले एउटा राजनीतिक स्थिरताको सन्देश दिइसकेका छन् । अब ति सबै घाउ बिर्सने गरेर नयाँ सरकारले काम गरोस् । अब त्यस्तो दिन देख्न भोग्न नपरोस मेरो यहि कामना छ ।
मुलुकमा यतिबेला नयाँ सरकार बनेको छ, स्थिर सरकार झण्डै दुइतिहाइको । नयाँ सरकारबाट तपाईहरुको अपेक्षा के हुन सक्छ ?
हो निश्चय पनि नेपाली जनताले शान्तिपूर्ण मतदान मार्फत अभुतपूर्व जनादेश प्रकट गरेका छन् । परिवर्तनको एजेण्डा उठाउँदै आएको रास्वपालाई दुई तिहाइ जनमत दिएका छन् । यो राजनीतिक स्थायित्व, स्थिर सरकार, नेपालको समृद्धि र अन्तराष्ट्रिय साख वढाउने महत्वपूर्ण अवसर हो भन्ने मलाई लागेको छ । यो अवसर हामीले कुनैपनि बाहानामा खेर फाल्नु हुँदैन । यस्तो दुर्लभ अवसर राष्टिय जिवनमा कमै प्राप्त हुन्छ । पाँचबर्ष यो अवसरको साँच्चै सदुपयोग गर्ने हो भने नेपालका लागि स्वर्ण युग नै बन्न सक्ने मैले देखेको छु । रास्वपाको बाचापत्र हेर्दा म ज्यादै उत्साहित थिए र छु पनि । निजीमैत्री र सुशासनका पक्षमा उहाँहरु स्पष्ट हुनुहुन्छ । त्यो बाचापत्र पुरा होस् । देश समृद्ध बनोस् । उद्यमी व्यवसायी सधैं तपाईहरुको पक्षमा रहने छ भनेर म नयाँ सरकारलाई भन्न चाहन्छु ।

सरकारले शासकीय सुधारका सय कार्यसूची सार्वजनिक गरेको छ । लगानी वातावरण सुधार, निजी क्षेत्रको सुरक्षा र उद्योग प्रवद्र्धनका लागि समयसिमा सहितका काम अघि बढाउने सरकारको घोषणाले निजी क्षेत्र थप उत्साहित छ । सत्तारुढ दलका सभापतिले संसदको पहिलो सम्बोधनका क्रममा निजी क्षेत्रलाई आस्वस्त पार्दै गर्नुभएको सम्बोधनले समेत हाम्रा लागि थप हौसला प्राप्त भएको छ । नयाँ सरकारले जनविश्वासमा अडेर देश र जनताको पक्षमा काम गर्ने हो भने अवको ५ बर्ष नेपालका लागि स्वर्ण युग सावित हुनेछ भन्ने मलाइ लागेको छ ।
यतिबेला बैंक तथा वित्तीय संस्थामा रकम थुप्रिएको छ । लगानीको वातावरण बन्न सकेको छैन, निजी क्षेत्रहरु निरुत्साहित बन्न पुगेका हुन् ? हाम्रो अर्थतन्त्रको साईलिङ कहाँ विग्रिएको जस्तो लाग्छ ?
अहिले ११ खर्व लगानी योग्य रकम बैकमा थुप्रेर बसेको छ । अब यो अवश्थामा धेरै सुधार होला भन्ने मैले अपेक्षा गरेको छु । किन भने लामो राजनीतिक अस्थिरता पछि हामीले दुई तिहाइको स्थिर सरकार पाउँदैछौँ । जनअपेक्षा बढेको अवस्था छ । खस्किएको निजी क्षेत्रको मनोवल पनि विस्तारै बढ्दै गएको मैले पाएको छु । अब सबैमा उत्साह थपिने छ र हामी नयाँ युगमा प्रवेश गर्ने छौँ । अब निरासा होइन आशा जगाउने बेला आएको छ । लगानीको वातावरण बनाउन सुशासन कायम गर्ने, अनावश्यक झण्झट हटाउने र कानुन संशोधन समेत गर्नुपर्ने आवश्यकता छ ।
यी सबै काम हुनेछन् र देश समृद्धिको यात्रामा अघि वढ्ने छ भन्ने मैले अपेक्षा गरेको छु । सरकारले कतिपय बिषय थालनि गरिसकेको पनि छ । लामो राजनीतिक अस्थिरता, कुशासन र लगानीमैत्री वातावरणको अभाव नै हाम्रो अर्थतन्त्रको साइकिलका प्रमुख अवरोधहरु हुन् । मलाई आशा छ यी सबै अवरोध अब रहने छैनन् ।

प्रतिक्रिया दिनुहोस