सोमवार , बैशाख २१, २०८३
Shares
Shares
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले महिलाले नेतृत्व गरेको हरेक क्षेत्र सफल हुने बताएका छन् । सोमबार विराटनगरमा आयोजित महिला नेतृत्व सम्मेलनको उद्घाटन गर्दै उनले निजी क्षेत्रले सरकारले गर्नुपर्ने कतिपय काम प्रभावकारी रूपमा अघि बढाएको उल्लेख गरे ।
मुख्यमन्त्री कार्कीले भने, “कतिपय काम सरकारले गर्नुपर्ने थियो, तर गर्न सकेन । त्यस्ता क्षेत्रमा निजी क्षेत्रले उल्लेखनीय भूमिका निर्वाह गरेको छ ।” उनले कोशी प्रदेश सरकारले महिला लक्षित विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिँदै साना तथा मझौला उद्योगका लागि ब्याज अनुदान कार्यक्रम लागू गरिएको स्मरण गराए ।
महिलालाई उद्योग सञ्चालनका लागि आर्थिक अभाव नहुने वातावरण सिर्जना गरिएको उनको भनाइ थियो । साथै, महिलाका मुद्दामा प्रदेश सरकार सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
सम्मेलन कोशी प्रदेशका महिलालाई राज्यका विभिन्न क्षेत्रमार्फत अगाडि बढाउने उद्देश्यले आयोजना गरिएको जनाईएको छ । परिसंघको केन्द्रीय समिति र कोशी प्रदेश समितिको महिला उद्यम समितिको संयुक्त आयोजनामा भएको महिला नेतृत्व सम्मेलन पहिलो पटक विराटनगरमा आयोजना गरिएको हो । कार्यक्रमको उद्देश्य महिलालाई राज्यले प्रदान गरेका हक, अधिकार तथा अवसरबारे जानकारी गराउनु रहेको आयोजकले जनाएको छ ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष तथा संविधानसभा सदस्य पवन सारडाले सम्मेलन अपेक्षाभन्दा सफल भएको बताए । उनले भने, “राज्यले राजनीतिक, सामाजिक, आर्थिक तथा बैंकिङ क्षेत्रमा महिलालाई दिएका अधिकारबारे धेरै महिलालाई जानकारी छैन । यही जानकारी प्रवाह गर्न सम्मेलन आयोजना गरिएको हो ।”
सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरूले महिलाका लागि राज्यले सुनिश्चित गरेका अधिकार र अवसरबारे जानकारी दिएका थिए । कार्यक्रममा कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारी मन्त्री मो. इस्राइल मन्सुरी, नेपाल उद्योग परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, उपाध्यक्ष भीम घिमिरे तथा संघीय सांसद विदुषी राणा लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनको संयोजक समेत रहेकी सांसद राणाले सरकारले हरेक काममा कम्तिमा ३० प्रतिशत सामाग्री महिलाले उत्पादन तथा सञ्चालन गरेका व्यवसायबाट खरिद गर्नुपर्ने बताईन् । महिलाको सञ्चालन गरेको उद्योगहरुलाई सौलियत दिनुपर्ने बताउँदै उनले कर छुटका विषयमा पनि महिलाद्धारा सञ्चालित उद्योगहरुलाई प्राथमिकतामा राख्नुपर्ने उल्लेख गरिन् ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेशका उपाध्यक्ष गिरीजा सारडाको संयोजनमा सम्पन्न उक्त सम्मेलनले महिलाको नेतृत्व विकास र सशक्तीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सम्मेलनमा महिलाहरुद्धारा उत्पादित सामाग्रीहरुको प्रदर्शन पनि गरिएको थियो ।
Be the first to comment!
सम्पर्क : ०१- ४१०२६६४
समाचारको लागी इमेल :
[email protected]
विज्ञापनका लागि इमेल :
[email protected]
सुनौलो नेपाल अनलाइन प्रा. लि.
अनामनगर काठमाडौँ, नेपाल
सूचना विभाग दर्ता नम्बर: ५४३/०७४-७५
सम्पर्क : ०१- ४१०२६६४
विज्ञापनका लागि : ९८५१४२००७७, ९८५१४०३८९९
प्रतिक्रिया दिनुहोस