काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा विकासका लागि प्राथमिकता निर्धारण आवश्यक रहेको बताएका छन्।
“सफल भएका देशहरूले पहिला केही मुख्य ठाउँ विकास गरे, त्यसपछि विस्तारै अरु क्षेत्रमा पुगे। सबै ठाउँ एकैचोटी बनाउँछु भन्ने हो भने कहीँ पनि बन्दैन,” उनले भने।
सुनौलो नेपालको कार्यक्रम ‘समृद्धिको मार्ग के ?’ कार्यक्रममा डा. सुरेन्द्र केसीसँग कुरा गर्दै उनले पूर्व–पश्चिम राजमार्ग निर्माणको श्रेय तत्कालीन राजा महेन्द्रलाई दिनुपर्ने बताए।
“पूर्व–पश्चिम राजमार्गको योगदान महेन्द्रलाई नै दिनुपर्छ। कसैले राम्रो काम गरेको छ भने त्यसलाई सम्मान गर्दा हामी साना हुँदैनौँ,” उनले भने।
उनले विकास निर्माण कुनै एक व्यक्तिको योगदान नभई निरन्तर प्रक्रियाको परिणाम भएको उल्लेख गरे। “रिबन काट्ने मान्छेले मात्रै बनाएको हुँदैन, त्यसअघि धेरै सरकार र व्यक्तिको योगदान हुन्छ,” उनको भनाइ थियो।

‘४०० बिलियनर चाहिन्छ’
अन्तर्वार्ताका क्रममा पाण्डेले नेपालमा उद्यमशीलता र निजी क्षेत्रलाई सम्मान गर्नुपर्ने धारणा राखे।
भारतका उद्योगपति अडानी र अम्बानीको उदाहरण दिँदै उनले भने, “भारतमा एक युवाले भनेको सुनेँ, ‘हामीलाई ४०० अडानी चाहिन्छ, तब भारत विकास हुन्छ।’ नेपालमा पनि धेरै उद्यमी जन्मनुपर्छ।”
उनले बिनोद चौधरी जस्ता व्यवसायीलाई प्रोत्साहन गर्नुपर्ने बताए। “४०० बिलियनर बनाऊ न बिनोद चौधरी। त्यहीँबाट रोजगारी र उद्योगधन्दा बढ्छ,” उनले भने।
‘व्यवसायीलाई थुनेर होइन, आर्थिक जरिवानाबाट सुधार’
पूर्वअर्थमन्त्री पाण्डेले व्यवसायीमाथि दमन गरेर अर्थतन्त्र अघि बढ्न नसक्ने बताए।
“व्यवसायीलाई थुनेर कारबाही गर्ने होइन, गल्ती गर्दा आर्थिक जरिवाना गरौँ। पैसा तिर्नुपर्छ भन्ने भएपछि मान्छे आफैँ सचेत हुन्छ,” उनले भने।
उनका अनुसार नेपालमा उद्यमीलाई नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति बदल्न आवश्यक छ।
“एउटा ठूलो व्यवसायीले हजारौँलाई रोजगारी दिन सक्छ। उद्यमीलाई प्रोत्साहन नगरी देश समृद्ध हुँदैन,” उनले बताए।

‘देश बनाउने जिम्मा सबैको हो’
पूर्वअर्थमन्त्री पाण्डेले नेपाल निर्माणका लागि राजनीतिक दल, नागरिक, कर्मचारी र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको धारणा राखे।
“हामी सबै नमिलेसम्म नेपाल बन्दैन। सरकार मात्रै होइन, नागरिक समाज, निजी क्षेत्र र सबैको योगदान चाहिन्छ,” उनले भने।
पूरा भिडियो :
प्रतिक्रिया दिनुहोस