काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह के को आफ्नो पहिलो खेलमा महादेशीय पावरहाउस पोर्चुगल अफ्रिकी राष्ट्र डिआर कंगोसँग १–१ को बराबरीमा रोकिएको छ। अमेरिकाको ह्युस्टन स्टेडियममा भएको प्रतिस्पर्धामा सुरुवाती अग्रता जोगाउन नसक्दा पोर्चुगल अंक बाँड्न बाध्य भएको हो ।
खेलको छैटौँ मिनेटमै पेड्रो नेटोको उत्कृष्ट क्रसलाई जोआओ नेभेसले हेडमार्फत गोल गर्दै पोर्चुगललाई बलियो सुरुवात दिलाएका थिए । तर, रक्षापङ्क्तिको कमजोरीको फाइदा उठाउँदै डिआर कंगोले पहिलो हाफको इन्जुरी समयको चौथो मिनेटमा बराबरी गोल फर्कायो । कंगोका लागि योहान विसाले गोल गर्दै खेललाई १–१ को स्थितिमा ल्याएका थिए, जुन खेलको अन्तिम नतिजा बन्न पुग्यो ।
फिफा विश्वकपको इतिहासमा डिआर कंगोका लागि यो गोल र अंक ऐतिहासिक बनेको छ । सन् १९७४ मा जायर को नामबाट विश्वकप खेलेको कंगो त्यसबेला समूह चरणका तीनै खेलमा पराजित भएको थियो भने कुनै गोल गर्न सकेको थिएन । ५२ वर्षपछिको यो पुनरागमनमा कंगोले विश्वकप इतिहासकै आफ्नो पहिलो गोल र पहिलो अंक जोड्न सफल भएको छ।
पोर्चुगलका स्टार स्ट्राइकर तथा कप्तान क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत लगातार छैटौँ विश्वकप खेल्ने लियोनेल मेस्सीको विश्व कीर्तिमान बराबरी गरेका छन्। कीर्तिमान बनाए पनि खेलभरि कंगोको रक्षापङ्क्तिले उनलाई बाँधेर राख्दा रोनाल्डो आफ्नो पहिलो खेलमा गोल गर्न भने चुके।
प्रतिक्रिया दिनुहोस