काठमाडौं । कप्तान ह्यारी केनको दुई तथा जुड बेलिङहम र मार्कुस रासफोर्डको एक–एक गोलको मद्दतले इंग्ल्यान्डले फिफा विश्वकप २०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको समूह ‘एल’ अन्तर्गतको रोमाञ्चक खेलमा इंग्ल्यान्डले बलियो प्रतिद्वन्द्वी क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो ।
पहिलो हाफ २–२ को सनसनीपूर्ण बराबरीमा सकिए पनि दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै इंग्ल्यान्डले खेल आफ्नो पक्षमा पारेको थियो ।
खेलको १२औँ मिनेटमा कप्तान ह्यारी केनले पेनाल्टीमार्फत गोल गर्दै इंग्ल्यान्डलाई सुरुवाती अग्रता दिलाएका थिए । सुरुमा उनको प्रहार क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिचले बचाएका थिए, तर उनी पेनाल्टी प्रहार हुनुअघि नै अगाडि बढेको भिडियो असिस्टेन्ट रेफ्रीले ठहर गरेपछि पुनः प्रहारको अवसर दिइएको थियो । दोस्रो प्रयासमा केन चुकेनन् ।
खेलको ३६औँ मिनेटमा क्रोएसियाका मार्टिन बातुरिनाले उत्कृष्ट गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसको ६ मिनेटपछि अर्थात् ४२औँ मिनेटमा डेक्लान राइसको कर्नर पासमा केनले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई फेरि २–१ को अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा क्रोएसियाका पेटार मुसाले गोल गरेपछि पहिलो हाफ २–२ को स्थितिमा सकियो ।
दोस्रो हाफ सुरु हुनासाथ ४७औँ मिनेटमा युवा स्टार जुड बेलिङहमले एलिएट एन्डरसनको पासलाई सदुपयोग गर्दै इंग्ल्यान्डलाई ३–२ को अग्रता दिलाए। खेलको अन्त्यतिर क्रोएसियाले बराबरीका लागि प्रयास गरिरहँदा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मार्कुस रासफोर्डले ८५औँ मिनेटमा बुकायो साकाको पासमा गोल गर्दै इंग्ल्यान्डको ४–२ को शानदार जित निश्चित गरे ।
यो जितसँगै इंग्ल्यान्डले समूह ‘एल’ मा स्पष्ट ३ अंक जोड्दै आफ्नो विश्वकप अभियानलाई सुखद र आक्रामक रूपमा अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस