काठमाडौं । सह–आयोजक क्यानडाले फिफा विश्वकप २०२६ मा आफ्नो फुटबल इतिहासकै पहिलो र सबैभन्दा फराकिलो ऐतिहासिक जित दर्ता गरेको छ । भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा ५२ हजारभन्दा बढी दर्शकमाझ सम्पन्न समूह बी को खेलमा क्यानडाले एसियाली च्याम्पियन कतारलाई ६–० को विशाल गोलअन्तरले पराजित गरेको हो ।
क्यानडाको सानदार जितमा स्टार स्ट्राइकर जोनाथन डेभिडले ऐतिहासिक ह्याट्रिक पूरा गरे। यस्तै, कायल लारिन र नेथन सालिबाले एक/एक गोल थपे भने कतारबाट एक आत्मघाती गोल उपहार प्राप्त भयो। कतारका दुई खेलाडीले रातो कार्ड खाँदै मैदान छाड्नु परेपछि खेलको अधिकांश समय टोली ९ खेलाडीमा सीमित भएको थियो ।
पहिलो हाफमै क्यानडाको दबदबाखेलको १६औँ मिनेटमै कायल लारिनले गोल गर्दै घरेलु टोली क्यानडालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि २९औँ मिनेटमा जोनाथन डेभिडले सानदार भलीमार्फत गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको ३३औँ मिनेटमा कतारका डिफेन्डर हम्माम अहमदले क्यानडाका ताजोन ब्युकेनानलाई खराब ट्याकल गरेपछि सिधै रातो कार्ड पाएर मैदानबाट बाहिरिए ।
१० खेलाडीमा खुम्चिएको कतारविरुद्ध पहिलो हाफको इन्जुरी समयमा डेभिडले व्यक्तिगत दोस्रो गोल गरेपछि क्यानडाले पहिलो हाफमै ३–० को बलियो अग्रता बनायो । ५१औँ मिनेटमा कतारका मिडफिल्डर असिम माडिबोले क्यानडाका इसमाइल कोनेमाथि भयानक फाउल गरे । जसका कारण कोने गम्भीर घाइते हुँदै स्ट्रेचरमा मैदानबाहिर जानु पर्यो ।
भिडियो असिस्टेन्ट रेफ्रीको संसोधनपछि माडिबोलाई सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाइयो । कतार ९ खेलाडीमा झरेपछि क्यानडाले खेलमा पूर्ण नियन्त्रण जमायो । ६४औँ मिनेटस् घाइते कोनेको स्थानमा मैदान प्रवेश गरेका नेथन सालिबाले फ्रि–किकमार्फत उत्कृष्ट गोल गर्दै खेल ४–० मा पुर्याए । ७५औँ मिनेटमा क्यानडाको क्रसलाई क्लियर गर्ने प्रयासमा कतारका डिफेन्डर मोहम्मद मनाईले आफ्नै पोस्टमा आत्मघाती गोल गरे ।
इन्जुरी समयमा जोनाथन डेभिडले उत्कृष्ट फिनिसिङका साथ विश्वकप इतिहासमै क्यानडाका लागि पहिलो ह्याट्रिक पूरा गर्दै ६–० को जित सुनिश्चित गरे । विश्वकप इतिहासमा क्यानडाको यो पहिलो जित हो । यसअघि सन् १९८६ र २०२२ को विश्वकपमा सहभागिता जनाएको क्यानडाले आफ्ना सबै खेल हारेको थियो । यो ऐतिहासिक जितसँगै २ खेलबाट ४ अंक जोड्दै क्यानडा समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । समान खेलबाट १ अंक मात्र जोडेको कतार तालिकाको पुछारमा छ ।
प्रतिक्रिया दिनुहोस