काठमाडौं । लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा तीन वर्ष कैद सजाय भुक्तान गरी ६ महिनाअघि मात्रै कारागारबाट छुटेका एक व्यक्ति पुनः ठूलो परिमाणको खैरो हेरोइनसहित पक्राउ परेका छन्। पक्राउ गर्ने क्रममा प्रहरीको गोली लागेर उनी घाइते भएका छन्।
शनिबार काठमाडौंको बालकुमारीस्थित पुलमुनि लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा लागुऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट खटिएको टोलीले विशेष निगरानीपछि तीन जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ का ३९ वर्षीय किशोर प्रसाद ओझैया, कैलालीको टीकापुर नगरपालिका–५ का २५ वर्षीय अशोक भुल र सप्तरीको राजगढ गाउँपालिका–३ का २० वर्षीय निरज कुमार मण्डल रहेका छन् ।
ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार भारतको वासमतियाबाट काठमाडौं उपत्यकासम्म खैरो हेरोइन ल्याएर बिक्री वितरण गरिरहेको सूचनापछि उनीहरूमाथि निगरानी बढाइएको थियो। नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रहरी टोलीमाथि प्रतिरोध गर्दै भाग्ने प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको थियो।
प्रहरीका अनुसार सुरुमा चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गरिएको थियो। त्यसपछि पनि नरोकी भाग्न खोजेपछि प्रहरीले गोली चलाएको थियो। उक्त क्रममा किशोर प्रसाद ओझैयाको दाहिने खुट्टाको घुँडामुनि गोली लागेको प्रहरीले जनाएको छ।
घाइते ओझैयालाई तत्काल उद्धार गरी राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको छ। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट ३०० ग्राम खैरो हेरोइन तथा चार थान मोबाइल फोन बरामद गरेको छ। अन्य दुई अभियुक्तलाई नियन्त्रणमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरी अभिलेखअनुसार ओझैया लागूऔषध कारोबारका पुराना तथा बारम्बार संलग्न देखिएका व्यक्ति हुन्। उनी यसअघि लागूऔषध मुद्दामा तीन वर्ष कैद र एक लाख चार हजार रुपैयाँ जरिवाना सजाय भुक्तान गरी २०८२ पुस १७ गते नख्खु कारागारबाट रिहा भएका थिए। कारागारबाट छुटेको आधा वर्ष नबित्दै उनी पुनः ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस