चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन उद्घाटन हुन केही घण्टा मात्र बाँकी रहँदा समारोहस्थलमा वर्षाको पानी जमेर चुनौती थपिएको छ । चितवनको जिल्ला प्रहरी कार्यालय अगाडि रहेको गेष्टहाउस चौरमा निर्माण गरिएको मुख्य छानोसहितको ह्याङ्गरभित्र पानी जमेपछि अहिले व्यवस्थापनमा निकै सकस भइरहेको छ ।
होचो भूभाग भएकाले वर्षा हुनासाथ उक्त क्षेत्रमा पानी जम्ने गरेको स्थानीयले बताएका छन् । अहिले रास्वपाका स्वयंसेवकहरू मोटर र अन्य उपकरण प्रयोग गरेर ह्याङ्गरभित्रको पानी बाहिर निकाल्ने काममा तीव्र रूपमा जुटेका छन् ।
महाधिवेशनका सहभागीहरू बस्नका लागि तयार गरिएका तीनवटा खण्डमध्ये मुख्य ह्याङ्गरमा सबैभन्दा बढी पानी जमेको छ । करिब २० मिटर चौडा र ७५ मिटर लामो उक्त मुख्य खण्डको केही स्थानमा गोलीगाँठोसम्म डुब्ने गरी पानी जमेको र त्यसलाई हटाउने काम भईरहेको छ । आयोजकका अनुसार यो ह्याङ्गरभित्र करिब ५ हजार जना अट्ने क्षमता रहेको छ ।
दिउँसो २ बजे उद्घाटन सत्र सुरु हुने तालिका रहेकाले त्यतिन्जेलसम्म पानीको पूर्ण व्यवस्थापन भइसक्ने अपेक्षा आयोजकले लिएको छ । रास्वपाको यस प्रथम महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त रूपमा घण्टी बजाएर गर्ने विशेष कार्यक्रम तय गरिएको छ ।
चैत ७, ८ र ९ गते गरी तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा हुने भए तापनि नीतिगत छलफल र बन्दसत्र भने चितवन उद्योग संघको सुविधासम्पन्न सभाहलमा आयोजना गरिने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस