२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

४ हजार प्रतिनिधिमाझ २३ वर्षे अनिश : राजनीतिमा ‘जेनजी’ को प्रवेश घोषणा

आइतवार , आषाढ ७, २०८३

चितवन । महाधिवेशन स्थलमा भीड छ । देशभरबाट आएका प्रतिनिधिहरू आफ्ना समूहमा छलफल गरिरहेका छन् । कसैको राजनीतिक यात्रा दशकौँ लामो छ, कसैको अनुभव संगठनको पुरानो तहसम्म फैलिएको छ। तर त्यही भीडको बीचमा एक अनुहार छ- उमेरले सानो, तर दाबीले ठूलो।

रामेछापको गोकुलगंगा गाउँपालिकाका २३ वर्षीय अनिश खत्री राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी सबैभन्दा कान्छा प्रतिनिधि हुन् ।

उनी केवल प्रतिनिधि बनेर चितवन आएका होइनन्। उनीसँग एउटा प्रश्न छ- यदि युवाले राजनीति गर्दैनन् भने परिवर्तन कसले गर्छ ?

पेशा सिभिल इन्जिनियर। पढाइ पूरा गरेपछि उनीसँग विदेश जाने, रोजगारी खोज्ने वा निजी क्षेत्रमा करिअर बनाउने धेरै विकल्प थिए। तर उनले अर्को बाटो रोजे-राजनीति ।

अनिशको विश्वास छ, देश परिवर्तनको बहस सामाजिक सञ्जालको टिप्पणीमा होइन, नीति बनाउने टेबलमा पुग्नुपर्छ। र त्यो टेबलमा युवाको उपस्थिति अनिवार्य छ ।

‘हामी जस्ता युवाले राजनीति छोडेर परिवर्तन खोज्ने हो भने त्यो सम्भव हुँदैन,’ उनी भन्छन्, ‘हामीलाई प्रतिनिधित्व चाहिएको छ, सहभागिता चाहिएको छ, र निर्णय तहमा पुग्नुपर्छ ।’

उनको अर्को परिचय पनि छ-उनी केन्द्रीय सदस्य पदका आकांक्षी हुन् । २३ वर्षको उमेरमै केन्द्रीय सदस्य बन्ने घोषणा धेरैका लागि साहसी निर्णय हुन सक्छ । तर अनिश यसलाई उमेरको प्रतिस्पर्धा मान्दैनन् । उनी भन्छन्- विचार, योजना र जिम्मेवारीले नेतृत्व तय हुनुपर्छ ।

उनको दाबी छ- अब राजनीति पुरानो शैलीमा मात्रै चल्दैन। नयाँ पुस्ताको सोच, प्रविधिप्रतिको बुझाइ, रोजगारी, उद्यम, शिक्षा र अवसरका प्रश्नलाई केन्द्रमा राख्नुपर्ने समय आएको छ ।

‘जेनजीलाई राजनीतिमा केवल भोटरको रूपमा होइन, निर्णयकर्ताको रूपमा पनि देख्नुपर्छ,’ उनी भन्छन् । झण्डै ४ हजार प्रतिनिधि सहभागी महाधिवेशनमा अनिश एउटा संख्या मात्र होइनन् । उनी एउटा संकेत हुन्- राजनीति प्रति निराश मानिएको पुस्ताभित्र पनि अझै केही युवाहरू छन्, जसले विदेशको टिकटभन्दा परिवर्तनको सपना रोजेका छन् ।
अब त्यो सपनाले कति साथ पाउँछ, त्यो महाधिवेशनले तय गर्नेछ। तर यति स्पष्ट छ-२३ वर्षे अनिशले आफ्नो पुस्ताको उपस्थिति भने दर्ता गराइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ