चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् ।
प्रधानमन्त्री शाह आइतबार बुद्ध एयरको विमानमार्फत भरतपुर विमानस्थल पुगेका हुन् । प्रधानमन्त्री नियुक्त भएपछि औपचारिक कार्यक्रमका लागि उनी पहिलो पटक काठमाडौं उपत्यकाबाहिर गएका छन् । उनीसँग उनकी श्रीमती र छोरीसमेत चितवन पुगेका छन् ।
प्रधानमन्त्री शाह महाधिवेशन अवधिभर भरतपुरमै रहने कार्यक्रम रहेको बताइएको छ । भरतपुरस्थित गेष्टहाउस चौरमा दिउँसो २ बजे सुरु हुने उद्घाटन सत्रलाई उनले विशेष सम्बोधन गर्नेछन् ।
महाधिवेशनको औपचारिक उद्घाटन प्रधानमन्त्री शाह र रास्वपा सभापति रवि लामिछानेले संयुक्त रूपमा घण्टी बजाएर गर्ने कार्यक्रम तय गरिएको छ ।
रास्वपाले देशभर तथा प्रवासबाट गरी ४ हजार २११ प्रतिनिधि सहभागी हुने जनाएको छ । पार्टीको भावी नीति, संगठनात्मक संरचना र राजनीतिक मार्गचित्र तय गर्ने उद्देश्यसहित आयोजना गरिएको महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई समेत आमन्त्रण गरिएको छ ।
उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, एमाले नेता प्रदीप ज्ञवाली, जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरूको सहभागिता रहने जनाइएको छ ।
महाधिवेशनको उद्घाटन सत्र गेष्टहाउस चौरमा हुने भए पनि बन्दसत्र तथा नीतिगत छलफल चितवन उद्योग संघको सभाहलमा सञ्चालन गरिने रास्वपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस