२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

रास्वपा महाधिवेशनको दिन मुकुल ढकालको सन्देश : 'राजव्यक्ति होइन, राजनीति गरौँ'

आइतवार , आषाढ ७, २०८३

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक डा. मुकुल ढकालले पार्टीको पाँचौँ स्थापना दिवस, चौँथो वार्षिकोत्सव तथा प्रथम महाधिवेशनका अवसरमा शुभकामना व्यक्त गर्दै महाधिवेशनलाई व्यक्ति केन्द्रित नभई विचार र कार्यदिशामुखी बनाउन आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देशमा ढकालले चार वर्षअघि पार्टी दर्ताका लागि आवश्यक ५०० नागरिकता जुटाउनसमेत संघर्ष गर्नुपरेको अवस्थाबाट छोटो समयमै रास्वपा सरकारसम्म पुग्न सफल भएको स्मरण गरेका छन्।

उनले पार्टीको प्रथम ऐतिहासिक महाधिवेशन सुरु भइरहँदा आफू भने निमन्त्रणा सूचीमै नपरेको उल्लेख गर्दै भौतिक रूपमा उपस्थित नभए पनि आफ्नो विचार, मूल्य र सिद्धान्त पार्टीसँग जोडिएको बताएका छन्।

“राजनीति गर्ने व्यक्तिका लागि शरीर कहाँ उपस्थित छ भन्नेभन्दा उसका विचार, मूल्य र सिद्धान्तले कति स्थान ओगटेका छन् भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ,” उनले लेखेका छन्।

ढकालले महाधिवेशनमा सहभागी प्रतिनिधिहरूलाई पद, व्यक्ति वा गुटभन्दा माथि उठेर पार्टीको दीर्घकालीन कार्यदिशा तय गर्न आग्रह गरेका छन्। उनका अनुसार महाधिवेशनको सफलता को जित्यो वा हार्यो भन्नेमा होइन, पार्टीले कुन दिशा रोज्छ भन्नेमा निर्भर रहनेछ।

उनले “राजव्यक्ति” र “राजनीति” बीचको भिन्नता स्पष्ट पार्दै राजनीति भनेको राज्य सञ्चालनका नीति, सिद्धान्त, विचार र कार्यदिशामाथिको बहस भएको बताएका छन्।

“व्यक्तिभन्दा विचारलाई, गुटभन्दा संस्थालाई, र पदभन्दा उद्देश्यलाई माथि राखेर निर्णय गर्नुहोस्,” ढकालको आग्रह छ। रास्वपाको प्रथम महाधिवेशन आज चितवनको भरतपुरमा सुरु भएको छ, जहाँ हजारौँ प्रतिनिधिहरू सहभागी छन्। ढकालले महाधिवेशनले सही कार्यदिशा, सही विचार र सही निर्णय गर्ने विश्वास व्यक्त गर्दै सबै प्रतिनिधिलाई शुभकामना दिएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ