म्याग्दी / रोजगारीको खोजीमा विदेश र सहरतिर जाने क्रम बढिरहेका बेला म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दर्मीजाका बिप्रसाद पुनले भने गाउँमै फर्किएर नयाँ उदाहरण प्रस्तुत गर्नुभएको छ। वैदेशिक रोजगारी र सहरको व्यवसायिक अनुभवलाई गाउँमै प्रयोग गर्दै उनले ‘दर्मीजा होमस्टे’ सञ्चालनमा ल्याएका छन् ।
हजुरबुबाले विसं २०१९ मा निर्माण गरेको परम्परागत शैलीको घरलाई मौलिक स्वरूपमै मर्मत गरेर सञ्चालन गरिएको होमस्टेमा एकैपटक १० जना पाहुनालाई बस्ने व्यवस्था छ। पुराना काठका सामग्री, तामाका भाँडाकुँडा, कृषि औजार तथा मगर समुदायको जीवनशैली झल्किने सामग्रीले घरलाई आकर्षक बनाएको छ।
धौलागिरि हिमालको मनोरम दृश्यसँगै मगर संस्कृति, ग्रामीण जीवनशैली र स्थानीय परिकार यहाँका प्रमुख आकर्षण हुन्। पाहुनाले ढिँडो, स्थानीय तरकारी, रातो च्याउ, कुखुरा, खसीबोकाको मासु, दूध, दही र मोहीको स्वाद लिन सक्छन्। खाना र बाससहित प्रतिव्यक्ति दैनिक शुल्क रु १,०५० निर्धारण गरिएको छ।
दर्मीजा गाउँ नजिकै रहेको प्राकृतिक तातोपानी कुण्ड, जागा झरना तथा नागींडाँडा क्षेत्रले पर्यटकलाई थप आकर्षित गर्ने स्थानीय जनप्रतिनिधिहरूको विश्वास छ। गाउँपालिकाले नागींडाँडालाई सहायक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिरहेको जनाएको छ।
बेनीबाट करिब २४ किलोमिटर उत्तरमा रहेको दर्मीजा कच्ची सडकमार्फत करिब डेढ घण्टामा पुग्न सकिन्छ। यहाँबाट चिमखोला, सोवाङ धुरी, धौलागिरि आइसफल हुँदै मुस्ताङसम्म पुग्ने पदमार्ग पनि रहेको छ। यस मार्गलाई बेनी–जोमसोम सडकको वैकल्पिक पदयात्रा मार्गका रूपमा विकास गर्ने प्रयास भइरहेको छ।
होमस्टेसँगै बिप्रसाद पुनले किबी, सुन्तला र कागतीको बगैँचा समेत स्थापना गर्न गरेका छन् ।यस परियोजनाबाट स्थानीय दुई जनाले नियमित रोजगारी पाएका छन्।
गाउँबाट सहर र विदेशतर्फ बढ्दो पलायनका बीच पुनको पहलले गाउँमै सम्भावना खोज्न सकिने र कृषि तथा पर्यटनलाई जोडेर आत्मनिर्भर बन्न सकिने सन्देशका लागि आफुले यो अभियान सुरु गरेको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस