काभ्रे / काभ्रेको भुम्लु गाउँपालिकाका नागरिकले करिब पाँच दशकदेखि भोग्दै आएको लालपुर्जाविहीन समस्याले समाधानको बाटो समातेको छ। गाउँपालिकाको वडा नम्बर ७ र ८ मा रहेका सयौं परिवारले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गर्न थालेपछि वर्षौंदेखिको अन्योल अन्त्य हुने अपेक्षा गरिएको छ।
लालपुर्जा वितरणसँगै अब जग्गासम्बन्धी बाँकी प्रक्रिया स्थानीय तहमै सञ्चालन हुने भएको छ। त्यसका लागि गाउँपालिकाले भूमि व्यवस्थापन शाखा स्थापना गरी सेवा सुरु गरेको छ।
यसअघि नापी र मालपोत कार्यालयमार्फत काम हुँदै आएकोमा हालसम्म ५३१ परिवारलाई लालपुर्जा वितरण भइसकेको छ। बाँकी करिब ५०० लालपुर्जा पनि वितरणको तयारी गरिएको वडा नम्बर ८ का अध्यक्ष मोतीलाल लामाले बताए। उनका अनुसार जिल्लाबाट तयार भएका प्रमाणपुर्जा वितरण गरिएपछि कित्ताकाट तथा अन्य प्रशासनिक काम गाउँपालिकाले नै गर्नेछ।
गाउँपालिकाका अध्यक्ष प्रेम भुजेलले भूमि व्यवस्थापन शाखाको उद्घाटन गर्दै लालपुर्जासम्बन्धी बाँकी काम स्थानीय स्तरमै सम्पन्न गरिने बताए। जटिल प्रकृतिका विषयमा भने नापी र मालपोत कार्यालयसँग समन्वय गरिने जनाइएको छ।
भुम्लु र रोशी गाउँपालिका सङ्घीय सरकारको भूमि समस्या समाधान कार्यक्रमअन्तर्गत छनोट भएका स्थानीय तह हुन्। भुम्लुका नागरिकले २०८२ भदौदेखि औपचारिक रूपमा लालपुर्जा प्राप्त गर्न थालेका हुन्।
स्थानीयका अनुसार तत्कालीन भुम्लु र फलाँटे गाविसबीच खेतीयोग्य जमिनको स्वामित्वलाई लिएर विवाद भएपछि विसं २०३२ मा सुरु भएको नापी प्रक्रिया अधुरो बनेको थियो। त्यसपछि २०३५ मा पुनः नापीको प्रयास भए पनि विवादकै कारण प्रक्रिया अघि बढ्न सकेन।
समस्या समाधानका लागि नापी कार्यालयले २०७१ सालदेखि स्थानीय स्तरमा टोली परिचालन गरेको थियो भने २०७६ सालमा भुम्लुमा फिल्ड कार्यालय स्थापना गरेर कामलाई तीव्रता दिएको थियो। त्यसयता प्रमाण संकलन, जग्गाधनी पहिचान र नापजाँचको काम निरन्तर जारी रह्यो।
कार्यालयका अनुसार प्रारम्भिक अध्ययनमा करिब एक हजार परिवार लालपुर्जाविहीन रहेको पाइएको थियो। अहिले अधिकांशको समस्या समाधान हुने चरणमा पुगेको छ। यद्यपि आवश्यक कागजात नपुगेका, बसाइँसराइ गरेका वा पुरानो अभिलेख नमिलेका केही जग्गाधनीको विवरण मिलाउन अझै चुनौती रहेको जनाइएको छ।
वर्षौंदेखि थाँती रहेको भूमि समस्या समाधानको अन्तिम चरणमा पुगेपछि स्थानीयवासी उत्साहित बनेका छन्। गाउँपालिकाले अब भूमि प्रशासनसम्बन्धी सेवा आफ्नै कार्यालयबाट उपलब्ध गराउने तयारी गरेको छ।
प्रतिक्रिया दिनुहोस