चितवन / चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत सोमबार बिहान तय गरिएको बन्दसत्र निर्धारित समयभन्दा एक घण्टाभन्दा बढी ढिलो हुँदा पनि सुरु हुन सकेको छैन।
बन्दसत्र बिहान ८ः३० बजे सभापति रवि लामिछाने उपस्थित भएपछि सुरु गरिने जानकारी दिइएको थियो। तर बिहान साढे ९ बजेसम्म पनि उनी बन्दसत्र स्थलमा नआइपुगेका कारण कार्यक्रम अघि बढ्न सकेको छैन।
बन्दसत्र सञ्चालन हुने हलमा समेत आवश्यक व्यवस्थापनको काम जारी रहेको छ। साढे ९ बजेसम्म कुर्सी व्यवस्थापनको काम नसकिएको देखिएको छ।
सभापति लामिछाने आइतबार राति बालेन्द्र शाह सँगै महाधिवेशन स्थलबाट करिब १९ किलोमिटर टाढाको एक रिसोर्टमा बसेका थिए।
बन्दसत्र सुरु हुन ढिलाइ हुँदा महाधिवेशनका विभिन्न प्रक्रिया प्रभावित भएका छन्। विशेषगरी केन्द्रीय सदस्य पदका आकांक्षीहरूले उम्मेदवारी फाराम भर्ने तथा बुझाउने कार्यसमेत अझै सुरु हुन सकेको छैन।
महाधिवेशनका प्रतिनिधिहरू बन्दसत्र सुरु हुने प्रतीक्षामा रहेका छन् भने कार्यक्रम कहिले सुरु हुन्छ भन्नेबारे आयोजक पक्षले औपचारिक जानकारी दिएको छैन ।
प्रतिक्रिया दिनुहोस