२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

पाँच दशकमा रुंगटा ग्रुप: एउटा सानो तेल मिलबाट नेपालको खाद्य उद्योगको भरोसायोग्य ब्रान्डसम्म

सोमवार , आषाढ २९, २०८३

 काठमाडौँ । २०२० सालतिर वीरगञ्जमा एउटा सानो तेल र दाल मिल सञ्चालनमा थियो । सीमित लगानी, सीमित बजार र भविष्यप्रति धेरै ठूलो सपना पनि थिएन । व्यवसाय चलाउने, परिवार धान्ने र इमान्दारीपूर्वक काम गर्ने सोच मात्र थियो । तर समयसँगै त्यही सानो उद्योग आज नेपालको खाद्य उद्योगको एउटा बलियो स्तम्भ बन्न पुग्यो । त्यो नाम हो—रुंगटा ग्रुप ।

नेपालको निजी क्षेत्रको इतिहासमा धेरै उद्योग खुले, धेरै बन्द पनि भए । राजनीतिक परिवर्तन, आर्थिक उतारचढाव, नाकाबन्दी, श्रम समस्या, ऊर्जा संकट र बजारका चुनौतीहरू पार गर्दै केही उद्योग मात्र समयसँगै अझ बलिया बने । रुंगटा ग्रुप त्यही सीमित समूहभित्र पर्छ, जसले व्यापारलाई उत्पादनमा रूपान्तरण ग¥यो, उत्पादनलाई ब्रान्ड बनायो र ब्रान्डलाई राष्ट्रिय पहिचान दिलायो । 

आज रुंगटा ग्रुपको परिचय केवल एउटा उद्योगका रूपमा सीमित छैन । खाने तेल, चामल, दाल, मैदा, पशुपन्छीको दाना, ह्याचरी, खाद्यान्न प्रशोधन र एफएमसीजी उत्पादनसम्म फैलिएको व्यवसायले हजारौं परिवारलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी दिएको छ । देशभर फैलिएको वितरण सञ्जाल र भारतसम्म पुगेको निर्यातले समूहलाई नेपालको अग्रणी औद्योगिक घरानामध्ये एक बनाएको छ । रुंगटा ग्रुपका निर्देशक सुरेश कुमार रुंगटासँग सुनौलो नेपालको विस्तृत कुराकानीमा उनले उद्योगको यात्रा, सफलता, चुनौती र नेपालको औद्योगिक वातावरणबारे खुला रूपमा आफ्ना धारणा राखे ।

बुवाले रोपेको बिरुवा

सुरेश कुमार रुंगटा आफ्ना पिताको संघर्ष सम्झँदा भावुक हुन्छन् । उनका अनुसार व्यवसायको सुरुवात कुनै ठूलो योजनाबाट भएको थिएन । २०२० सालतिर वीरगञ्जमा एउटा सामान्य दाल र तेल मिलबाट यात्रा सुरु भयो । त्यसबेला उद्योगभन्दा व्यापारको अवधारणा बढी थियो । आधुनिक प्रविधि थिएन, ठूलो पूँजी थिएन र बैंकबाट सहज ऋण पाउने अवस्था पनि थिएन । २०३४ सालमा उद्योग विस्तारको उद्देश्यले नयाँ जग्गा खरिद गरियो । त्यसको एक वर्षपछि २०३५ सालदेखि तेल मिल, दाल मिल र चामल मिल एउटै परिसरमा सञ्चालनमा आए । यही निर्णयले रुंगटा ग्रुपको औद्योगिक भविष्यको आधार तयार गर्यो । ‘त्यो बेला यति ठूलो उद्योग बन्छ भन्ने सोचिएको थिएन,’ सुरेश रुंगटा भन्छन्, ‘तर प्रत्येक वर्ष नाफा फेरि उद्योगमै लगानी गरियो । विस्तारै उद्योग आफैं बढ्दै गयो ।’

news...JPG

विश्वासले बदलिएको भविष्य

रुंगटा ग्रुपको यात्रामा एउटा महत्वपूर्ण मोड बैंकिङ क्षेत्रबाट आयो । सुरेश रुंगटा स्पष्ट शब्दमा भन्छनञ—यदि त्यसबेला नबिल बैंकले विश्वास गरेर ऋण नदिएको भए उद्योगको विस्तार यति सहज हुने थिएन ।

उनका अनुसार पहिले बैंकहरू उद्योगीमाथि विश्वासभन्दा नियन्त्रण बढी गर्थे। गोदाममा बैंकको ताल्चा लाग्थ्यो। सामान निकाल्नुअघि रकम तिर्नुपथ्र्यो । उद्योगीले आफ्नै सामान निकाल्न पनि बैंक कर्मचारीको अनुमति कुर्नुपर्ने अवस्था थियो । तर नबिल बैंकले विश्वासका आधारमा ऋण उपलब्ध गरायो । त्यही विश्वासले उद्योगलाई आधुनिक उपकरण खरिद गर्न, उत्पादन क्षमता बढाउन र नयाँ उद्योग स्थापना गर्न ऊर्जा दियो । “हामीले पनि त्यो विश्वासलाई कहिल्यै तोडेनौं,” उनी भन्छन् । “ऋण समयमै ति-यौं र उद्योगलाई निरन्तर विस्तार ग-यौं ।”

व्यापारबाट उत्पादनतर्फको छलाङ

रुंगटा ग्रुपको विशेषता व्यापारभन्दा उत्पादनलाई प्राथमिकता दिनु हो । २०६४ सालमा ओम चाउब्रो फिड इन्डस्ट्रिज स्थापना गर्दै पशुपन्छीको दाना उत्पादन सुरु गरियो । त्यसपछि ओम एग्रो प्रोडक्ट अन्तर्गत आधुनिक राइस मिल सञ्चालनमा आयो। चामल उद्योगबाट निस्कने भुस र अन्य उपउत्पादनलाई दाना उद्योगमा प्रयोग गर्ने अवधारणाले उत्पादन लागत घटायो र उद्योगहरूलाई एकअर्काको पूरक बनायो । त्यसपछि आधुनिक मैदा उद्योग सञ्चालनमा आयो ।

आज समूहका उत्पादनहरू दिव्य रिफाइन्ड आयल, पोषक पेलेट फिड, पोषक वन डे चल्ला, चामल, दाल, मैदा तथा अन्य खाद्यान्न उत्पादनका रूपमा नेपाली उपभोक्ताको भान्सासम्म पुगेका छन् ।

नेपालभर फैलिएको औद्योगिक सञ्जाल

रुंगटा ग्रुपको विस्तार केवल एउटा शहरमा सीमित छैन । वीरगञ्ज, विराटनगर, नारायणघाट र नेपालगञ्जमा रहेका उद्योग र वितरण केन्द्रहरूले पूर्वदेखि पश्चिमसम्म बजारलाई जोडिरहेका छन् ।

पूर्वी नेपालका लागि विराटनगर, मधेश र बागमतीका लागि वीरगञ्ज तथा नारायणघाट र पश्चिमका लागि नेपालगञ्जबाट उत्पादन वितरण भइरहेको छ । यसले ढुवानी समय घटाएको छ र बजारमा उत्पादनको नियमित आपूर्ति सुनिश्चित गरेको छ ।

भारतीय बजारसम्म नेपाली उत्पादन

नेपालको अधिकांश उद्योग आयातमा निर्भर रहेको अवस्थामा रुंगटा ग्रुपले निर्यातमा पनि आफ्नो उपस्थिति बनाएको छ । समूहले सोयाबिन पिना, राइस ब्रान र खाने तेल भारततर्फ निर्यात गरिरहेको छ। नेपाली उद्योगले गुणस्तरीय उत्पादनमार्फत अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्छ भन्ने उदाहरणका रूपमा पनि रुंगटा ग्रुपलाई हेरिन्छ ।

अर्बौंको कारोबार, हजारौंको रोजगारी

आज रुंगटा ग्रुपको कारोबार अर्बौं रुपैयाँमा पुगेको छ । सुरेश रुंगटाका अनुसार पशुपन्छीको दाना उद्योगको वार्षिक कारोबार करिब ७ अर्ब रुपैयाँ छ भने खाने तेल व्यवसायको कारोबार २० अर्ब रुपैयाँभन्दा बढी पुगेको छ । अन्य उद्योगहरू पनि निरन्तर विस्तार भइरहेका छन् ।
यति ठूलो उत्पादन क्षमताले हजारौं मानिसलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारी दिएको छ । किसानदेखि ढुवानी व्यवसाय, वितरकदेखि खुद्रा व्यापारीसम्म रुंगटा ग्रुपसँग जोडिएको ठूलो आर्थिक चक्र निर्माण भएको छ ।

सफलतासँगै चुनौती पनि

सफल व्यवसायी हुँदाहुँदै पनि सुरेश रुंगटा राज्यको नीतिप्रति सन्तुष्ट छैनन् । उनको भनाइमा, सरकारले उद्योगीबाट ठूलो परिमाणमा कर उठाउँछ, तर उद्योग सञ्चालन सहज बनाउन आवश्यक नीति र कानुनी वातावरण बनाउन पर्याप्त ध्यान दिएको छैन ।

उनी विशेषगरी तीन विषयमा जोड दिन्छन—भरपर्दो विद्युत् आपूर्ति, उद्योगमैत्री श्रम कानुन र उधारो कारोबारसम्बन्धी कानुन । “हामीले बजारमा सामान बेच्यौं, पैसा उठेन । तर सरकारले अर्को महिनाको २५ गतेभित्र भ्याट र कर तिर्नै भन्यो । उद्योगीको समस्या कसले बुझ्ने ?” उनी प्रश्न गर्छन् ।

DSC07976.JPGश्रम कानुन सुधारको माग

रुंगटाको अर्को चिन्ता श्रम कानुन हो । उद्योग सञ्चालनका लागि दक्षता र उत्तरदायित्व आवश्यक पर्ने भए पनि अहिलेको कानुनी व्यवस्थाले काम नगर्ने कर्मचारीलाई हटाउनसमेत कठिन बनाएको उनी बताउँछन् ।

उनका अनुसार उद्योग र श्रमिक दुवैको हित हुने गरी समयअनुकूल कानुन आवश्यक छ । उद्योगलाई प्रतिस्पर्धी बनाउन श्रम नीति व्यावहारिक हुनुपर्ने उनको तर्क छ ।

सरकारसँग गुनासो मात्र होइन, आशा पनि 

रुंगटाको गुनासो सरकारसँग मात्र होइन, आशा पनि त्यत्तिकै छ । उनी निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्न आग्रह गर्छन् । उनका अनुसार नेपालको निजी क्षेत्रसँग लगानी गर्ने क्षमता छ, उत्पादन बढाउने इच्छा छ र निर्यात विस्तार गर्ने सम्भावना पनि छ । आवश्यक छ त केवल स्थिर नीति, स्पष्ट कानुन र विश्वासको वातावरण ।

पाँच दशकअघि एउटा सानो तेल मिलबाट सुरु भएको यात्राले आज रुंगटा ग्रुपलाई नेपालको अग्रणी औद्योगिक समूहको रूपमा स्थापित गरिसकेको छ । व्यापारबाट उत्पादन, उत्पादनबाट ब्रान्ड र ब्रान्डबाट राष्ट्रिय पहिचानसम्मको यो यात्रा केवल एउटा कम्पनीको सफलता होइन, नेपाली उद्यमशीलताको सम्भावनाको कथा पनि हो ।

नेपालको अर्थतन्त्र आयातमुखी रहेको बेला स्वदेशमै उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने र निर्यात विस्तार गर्ने निजी क्षेत्रको भूमिकालाई रुंगटा ग्रुपले व्यवहारमै प्रमाणित गरेको छ । उद्योग चलाउने जिम्मा उद्योगीको रहेकाले विश्वास गर्ने वातावरण बनाउने जिम्मा राज्यको रहेको रुंगाटा बताउछन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट