२०८३, आषाढ ३० गते

मंगलवार, आषाढ ३० गते २०८३

जनता एग्रो एण्ड फरेस्ट्री : जसले आइपीओको तयारीलाई तीव्र पारिरहेको छ

सोमवार , आषाढ २९, २०८३

काठमाडौं । कृषि तथा वनजन्य उत्पादनमा आधारित व्यवसाय विस्तार गरिरहेको जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड (जेएएफएल) ले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) को तयारीलाई तीव्र बनाएको छ । कम्पनीको विशेष साधारणसभाले नयाँ संस्थागत लगानीकर्ता भित्राउने, पुँजी संरचना परिमार्जन गर्ने तथा आइपिओ निष्कासनका लागि सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने निर्णय गरेको छ ।

सभाले पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेड र समिट इनर्जी सोलुसन प्रालिलाई संस्थापक समूहको जगेडा सेयर बिक्री गर्ने प्रस्ताव स्वीकृत गरेको छ । निर्णयअनुसार दुवै संस्थालाई प्रतिकित्ता १२५ रुपैयाँका दरले दुई–दुई लाख कित्ता सेयर उपलब्ध गराइनेछ । यससँगै दुवै संस्थाको संयुक्त लगानी पाँच करोड रुपैयाँ पुग्नेछ ।

हाल कम्पनीको जारी पुँजी दुई अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीले न्यूनतम २० प्रतिशतदेखि अधिकतम २७.५ प्रतिशतसम्म सेयर सर्वसाधारणमा निष्कासन गर्ने तयारी गरिरहेको छ । विशेष साधारणसभाले आइपिओसँग सम्बन्धित सम्पूर्ण प्रक्रिया अगाडि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ । यसअघि २०८२ मंसिरमा सम्पन्न वार्षिक साधारणसभाले कम्पनीलाई आइपिओ निष्कासन गर्ने निर्णय गरिसकेको थियो ।

आइपिओ निष्कासनलाई व्यवस्थित र नियामकीय मापदण्डअनुरूप सम्पन्न गर्न कम्पनीले सिद्धार्थ क्यापिटल लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक तथा केयर एज रेटिङ नेपाललाई क्रेडिट रेटिङ संस्थाका रूपमा नियुक्त गरिसकेको छ ।

यसैगरी, कम्पनीले नेपाल धितोपत्र बोर्डको सुशासनसम्बन्धी मापदण्डअनुसार आफ्नो प्रबन्धपत्र तथा नियमावली संशोधन गरेको छ । नियमावलीको व्यवस्था परिवर्तन गर्दै अब सञ्चालक समितिमा दुई जना स्वतन्त्र सञ्चालक तथा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेको छ ।

‘खेतीदेखि बिक्रेतासम्म’ को अवधारणामा आधारित जनता एग्रोले उच्च मूल्य अभिवृद्धि हुने कृषि तथा वनजन्य उत्पादनको उत्पादन, संकलन, प्रशोधन, ब्रान्डिङ र बजारीकरणलाई एउटै मूल्य शृंखलामा आबद्ध गर्ने रणनीति लिएको छ ।

कम्पनीले जडीबुटी, सुगन्धित तेल, रैथाने वनस्पति, गैरकाष्ठ वन पैदावार, मसला, बाँस, कसाभा (सिमल तरुल), फलफूल तथा अन्य कृषि उत्पादनको प्रशोधन उद्योग विस्तार गर्दै आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमा योगदान गर्ने लक्ष्य लिएको छ ।

यसका लागि अन्तर्राष्ट्रिय विकास साझेदार, निजी क्षेत्र, अनुसन्धान संस्था तथा किसानसँग सहकार्य गर्दै सातै प्रदेशमा कृषि–औद्योगिक क्लस्टर विकास, संकलन केन्द्र, कोल्ड चेन, प्रशोधन उद्योग तथा आपूर्ति शृङ्खला निर्माण गर्ने दीर्घकालीन योजना अघि सारिएको छ ।

golyan.JPG
पवनकुमार गोल्यान (अध्यक्ष) जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड

करार खेतीमार्फत किसान जोड्ने योजना

कम्पनीका अध्यक्ष पवनकुमार गोल्यान आइपिओ निष्कासनसँगै कम्पनीको विस्तार अझ व्यवस्थित, पारदर्शी र उत्तरदायी हुने बताउछन् । उनका अनुसार प्राकृतिक स्रोत, आधुनिक प्रविधि र निजी लगानीलाई एकीकृत गर्दै आत्मनिर्भर कृषि अर्थतन्त्र निर्माण गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।

कम्पनीले करार खेतीको अवधारणालाई विस्तार गर्दै तोकिएको गुणस्तरका बाली तथा फलफूल उत्पादनमा किसानलाई आबद्ध गराउनेछ । यसबाट किसानले उत्पादनको सुनिश्चित बजार, पूर्वनिर्धारित मूल्य र प्राविधिक सहयोग प्राप्त गर्ने उनको भनाइ छ ।

गोल्यानले कम्पनीको लक्ष्य केवल राजस्व वृद्धि नभई किसानको आय बढाउने, महिला उद्यमशीलता प्रवद्र्धन गर्ने, रोजगारी सिर्जना गर्ने, स्थानीयस्तरमै मूल्य अभिवृद्धि गर्ने, आयात प्रतिस्थापन तथा निर्यात वृद्धि गर्ने रहेको बताए ।

"जनता एग्रो एण्ड फरेस्ट्री लिमिटेड 'माटो नेपाल' ब्रान्डको विस्तारसँगै मसला, कसाभा (सिमल तरुल), बाँस, अम्बालगायत उच्च मूल्यका कृषि तथा वनजन्य उत्पादनमा आधारित नयाँ परियोजना अघि बढाइरहेको छ। हाम्रो लक्ष्य कम्पनीको राजस्व बढाउनु मात्र होइन, किसानको आम्दानी वृद्धि, महिला उद्यमशीलता, रोजगारी सिर्जना, स्थानीय प्रशोधन, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धनमार्फत नेपालमै दीर्घकालीन मूल्य सिर्जना गर्नु हो," उनले भने ।

दिगो विकास लक्ष्य (एसडीजी) अनुरूप कृषि–औद्योगिक पूर्वाधार विस्तार, आधुनिक खाद्य प्रशोधन उद्योग स्थापना र उच्च मूल्यका नेपाली कृषि उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा स्थापित गर्ने रणनीतिसहित जनता एग्रो अघि बढेको कम्पनीकाे भनाई छ । 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट