२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

त्रिवेणी-दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको छ : मुख्यमन्त्री पाण्डे

बुधवार , फाल्गुण २८, २०८१

त्रिवेणी (नवलपरासी) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले त्रिवेणी–दुम्किबास सडक खोल्न प्रदेशले पहल गरिरहेको जानकारी दिएका छन् ।

नेपाल पत्रकार महासङ्घ नवलपुर शाखाद्वारा आज कावासोतीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले त्रिवेणी–दुम्किबास सडक नखुल्दा परेको समस्याका विषयमा प्रदेश जानकार रहेको र उक्त सडक खोल्न पहल गरिरहेको बताएका हुन् ।

वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) र विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) स्वीकृत भए मात्र स्थायी बाटो खोल्न सक्ने भएकाले अहिले पहिलो चरणमा इआइएको काम अघि बढिरहेको मुख्यमन्त्री पाण्डेले बताए । “पहिला इआइएका लागि प्रवेश गर्ने अनुमति थिएन, अहिले निकुञ्जले इआइए गर्ने अनुमति दिएको छ । अहिले इआइएको काम अघि बढाउने क्रममा छौँ”, उनले भने, “त्यसपछि वन्यजन्तुमैत्री, वातावरणमैत्री भौतिक पूर्वाधार बनाउने गरी डिपिआर तयार गरी थप काम बढ्छ ।”

त्रिवेणी–दुम्किबास सडक हुलाकी राजमार्गमा पर्ने भएकाले उक्त आयोजनाअन्तर्गत काम गर्ने गरी समेत छलफल चलिरहेको मुख्यमन्त्री पाण्डेले बताए । त्रिवेणी–दुम्किबास सडक निर्माणलाई प्रदेशलाई दिए पनि आफूहरू तयार रहेको उनले बताए ।

“आठ किलोमिटर सडक प्रदेशलाई दिए हुन्थ्यो भन्ने छ, हामी बनाउँथ्यौँ तर यसका आफ्नै प्रक्रिया छ, त्यता लाग्दा झन ढिलो होला भनेर हुलाकी सडक आयोजनाअन्तर्गत बढाउने छलफल चलिरहेको छ”, मुख्यमन्त्री पाण्डेले भने ।

उक्त खण्डलाई स्थायी रूपमा बनाउन समय लाग्ने भएकाले हाल पहिलाकै बाटोलाई सफा गरेर कार, जिप, मोटरसाइकलजस्ता साना सवारी सञ्चालन गर्ने विषयमा केन्द्र सरकार र निकुञ्जसहितका सरोकारवालासँग छलफल भइरहेको उनले बताए ।

यो विषयमा विनयी त्रिवेणी गाउँपालिका समेत निर्णय गरेकाले प्रदेशले समेत केन्द्रमा बाटो सफा गरेर चलाउने विषय अनुमति माग गरको मुख्यमन्त्री पाण्डेले बताए । पहिलेको बाटो सफा गरेर सवारी चलाउन दिए प्रदेशसहित पालिका समेत यसको लागि तयार रहेको उनले बताए ।

नवलपुरको दुम्किबासदेखि बगुवन हुँदै त्रिवेणीसम्म १९ किलोमिटर दूरी पर्दछ । बगुवनसम्म अहिले पनि यातायात सञ्चालन हुने गर्दछन् । बगुवनदेखि त्रिवेणीसम्म १६ किमी पर्दछ । यसको करिब सात किलोमिटर क्षेत्र निकुञ्जले वन्यजन्तुको चरिचरन क्षेत्र बताउने गरेको छ ।

विसं २०५९ सालअघि हुलाकी सडकका रूपमा रहेकोमा यस खण्डमा विसं २०६३ मा सडकको मर्मत गरी यातायात सञ्चालन गरिएको थियो । हुलाकी सडकको रूपमा रहेको यस खण्डलाई गजेन्द्र मोक्ष जनता मार्ग नामकरण गरी विसं २०६३ असोजमा यातायात सञ्चालन गरिएको थियो ।

विसं २०६४ जेठमा निकुञ्जले वन्यजन्तु चरिचरनको क्षेत्र भनेर समेटेपछि यातायात सञ्चालनमा रोक लगाइएको छ । अहिले त्रिवेणी क्षेत्रमा पर्ने दुई वटा वडाका बासिन्दा लुम्बिनी प्रदेशको बाटो हुँदै करिब ४० किलोमिटर घुमेर गाउँपालिकाको कार्यालय आउनुपर्ने बाध्यता रहेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट