काठमाडौं । घुन्सा खोला जलविद्युत् आयोजनाको सिभिल तथा हाइड्रोमेकानिकल निर्माण कार्यको ठेक्का शर्मा एन्ड कम्पनी नेतृत्वको संयुक्त उपक्रम (जेभी) ले प्राप्त गरेको छ।
आयोजनाको प्रवर्द्धक रेमिट हाइड्रोले शर्मा एन्ड कम्पनीसँगै भारतका निर्माणवृद्धि कन्स्ट्रक्सन्स इन्डिया एलएलपी र प्रथिमा इन्फ्रास्ट्रक्चर लिमिटेड सम्मिलित संयुक्त उपक्रमलाई ‘लेटर अफ इन्टेन्ट टु अवार्ड द कन्ट्र्याक्ट’ (एलओआई) जारी गर्दै निर्माण ठेक्का प्रदान गरेको हो।
रेमिट हाइड्रोका अनुसार ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत् आयोजनाको पहिलो चरणअन्तर्गत सिभिल तथा हाइड्रोमेकानिकल निर्माणका लागि उक्त संयुक्त उपक्रमले पेश गरेको प्रस्ताव सबैभन्दा कम लागतको र प्राविधिक रूपमा समेत योग्य ठहरिएको थियो।
हालको विनिमय दरअनुसार अमेरिकी डलरको रकम जोड्दा कुल ठेक्का मूल्य करिब ८ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ।
आयोजनाको निर्माण इन्जिनियरिङ, प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन (ईपीसी) मोडेलमा गरिनेछ। एलओआई जारी भएसँगै अब आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा गरी निर्माण सम्झौतामा हस्ताक्षर गर्ने तयारी अघि बढाइएको आयोजनाले जनाएको छ।
ताप्लेजुङ जिल्लामा निर्माण हुन लागेको घुन्सा खोला जलविद्युत् आयोजना नेपालको महत्वपूर्ण नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत् आयोजनामध्ये एक मानिन्छ। आयोजनाले सन् २०१६ मै सर्वेक्षण अनुमतिपत्र प्राप्त गरेको थियो।
निर्माण प्रक्रिया अघि बढेसँगै आयोजना कार्यान्वयनले गति लिने अपेक्षा गरिएको छ। आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् प्रणालीमा ७७.५ मेगावाट विद्युत् थपिनेछ, जसले देशको ऊर्जा उत्पादन वृद्धि र विद्युत् आपूर्तिमा योगदान पुर्याउने विश्वास गरिएको छ।
प्रतिक्रिया दिनुहोस