काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको तयारी चाउचाउ उत्पादक कम्पनी सीजी फूड्स (नेपाल) लिमिटेडकाे बलियो बजार उपस्थिति भएपनि पछिल्लाे समय कच्चा पदार्थको मूल्यवृद्धिका कारण दबाबमा पर्दै गएकाे छ ।
हालै कम्पनी सम्बन्धि एक प्रतिवेदनले कच्चा पदार्थ अन्तर्गत गहुँ, तेल, मसला प्याकेजिङ सामग्रीहरुकाे मूल्यवृद्धिका कारण उद्योगलाई अप्ठ्यारो पारेकाे देखाएकाे हो । उच्च लाभांश वितरण नीतिका कारण पनि आगामी दिनमा कम्पनीलाई चुनौती थपिने संकेत देखिएको प्रतिवेदनमा देखाइएकाे छ।
प्रतिवेदनअनुसार भू–राजनीतिक तनाव तथा अमेरिकी डलरको मूल्य वृद्धिले कम्पनीको सञ्चालन नाफामा उल्लेख्य दबाब परेको छ। आर्थिक वर्ष २०२४ मा १२.१ प्रतिशत रहेको कन्सोलिडेटेड सञ्चालन नाफा मार्जिन आर्थिक वर्ष २०२५ मा घटेर ६.६ प्रतिशतमा सीमित भएको थियो।
यद्यपि चालु आर्थिक वर्ष २०२६ को पहिलो नौ महिनामा निर्यात बढेकाे छ ।
प्रतिवेदनले पछिल्लो समय नेपाली बजारमा पिरो स्वादका चाउचाउको माग बढ्दै जाँदा स्वदेशी तथा अन्तर्राष्ट्रिय नयाँ ब्रान्डहरूको प्रवेशले प्रतिस्पर्धा तीव्र बनेको उल्लेख गरेको छ। यसले वाई–वाईको परम्परागत बजार हिस्सामाथि दबाब सिर्जना गर्न सक्ने गरिएको छ।
कम्पनीले आर्थिक वर्ष २०२५ मा अघिल्लो वर्षको खुद नाफाको ९२ प्रतिशत लाभांश वितरण गरेको थियो भने चालु आर्थिक वर्षको पहिलो नौ महिनामा करिब शतप्रतिशत नाफा लाभांशका रूपमा वितरण गरेको प्रतिवेदनमा उल्लेख छ।
कम्पनीले नयाँ उत्पादन विस्तार तथा पुँजीगत लगानी (क्यापेक्स) योजना अघि बढाइरहेका बेला अत्यधिक लाभांश वितरणले भविष्यमा तरलता तथा वित्तीय लचकतामा दबाब सिर्जना गर्न सक्नेछ। चौधरी ग्रुपअन्तर्गतका केही अन्य सम्बद्ध संस्थामा तरलता सम्बन्धी दबाब देखिएकाले कम्पनीको आगामी लाभांश नीति निगरानीयोग्य विषयका रूपमा रहेको प्रतिवेदनले औँल्याएको छ।
यता, सरकारले हालै चाउचाउ तथा स्न्याक्सजस्ता आयातित वस्तुमा भन्सार शुल्क बढाएकाले स्वदेशी उत्पादकलाई प्रतिस्पर्धात्मक लाभ पुगेको देखिएकाे छ। यसले मूल्य समायोजनमा केही सहजता दिए पनि कच्चा पदार्थका लागि आयातमै निर्भर रहनुपर्ने अवस्थाका कारण आपूर्ति शृङ्खलासम्बन्धी जोखिम भने यथावत् रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ।
प्रतिक्रिया दिनुहोस