२०८३, आषाढ ७ गते

आइतवार, आषाढ ७ गते २०८३

स्याफ्रुबेँसी-रसुवागढी खण्डमा स्तरोन्नति गरिँदै

आइतवार , आषाढ ७, २०८३

रसुवा । स्याफ्रुबेँसी-रसुवागढी खण्डमा सडक स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । नेपाल र चीनबिचको ऐतिहासिक मित्रता, व्यापारिक सम्बन्ध तथा आर्थिक सहकार्यलाई थप मजबुत बनाउने उद्देश्यले गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्गअन्तर्गत स्याफ्रुबेँसीबाट रसुवागढीसम्म स्तरोन्नति थालिएको हो।

उक्त खण्डको स्तरोन्नतिका लागि चीन सरकारले आर्थिक तथा प्राविधिक सहयोग गरेको गल्छी-त्रिशूली-मैलुङ-रसुवागढी सडक आयोजना कार्यालयले जनाएको छ। यसअघि पनि उक्त सडक चीन सरकारले निर्माण गरिदिएको सडक विभागले जनाएको छ।

चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा चिनियाँ निर्माण कम्पनीमार्फत सञ्चालित आयोजनाले सडकलाई आधुनिक, सुरक्षित र दिगो बनाउने लक्ष्यसहित निर्माणलाई गति दिइएको आयोजनाका स्थलगत अनुगमनकर्ता एवं इञ्जिनियर कुमार पराजुलीले बताए। नेपालको उत्तरी व्यापारिक नाकाका रूपमा परिचित रसुवागढीलाई अझ व्यवस्थित र सुविधा सम्पन्न बनाउने यो आयोजना नेपाल–चीन सहकार्यको अर्को महत्वपूर्ण उदाहरणका रूपमा हेरिएको उनको भनाइ छ।

इञ्जिनियर पराजुलीका अनुसार पहिलो चरणमा विभिन्न स्थानमा मेसिनरी टेवा पर्खाल निर्माण, पहरा कटिङ तथा सडक सुरक्षासम्बन्धी संरचना निर्माण तीव्र गतिमा भइरहेको छ। कतिपय स्थानमा पर्खाल निर्माण र पहरा कटिङको काम सुरु भए पनि लाङ्टाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने केही स्थानमा रूख कटानको अनुमति प्राप्त हुन नसक्दा कुनातर्फको कटिङमा केही ढिलाइ भइरहेको उनले जानकारी दिए।

गत पुसदेखि सुरु भएको स्तरोन्नति हालसम्म करिब सात प्रतिशत काम भएको आयोजनाले जनाएको छ। निर्माण कम्पनीले रोङ्गा दोभानमाथि राजमार्ग नजिकै कामदार तथा प्राविधिकहरूको आवास निर्माण गरिसकेको छ । आवासीय व्यवस्थाले कार्यस्थलमा जनशक्ति परिचालन गर्न सहज भएकाले दिनरात निर्माण सञ्चालन भइरहेको इञ्जिनियर पराजुलीले बताए।

“नेपाल सरकारले निर्माणलाई सहज बनाउन स्थानीय खोलाबाट आवश्यक गिट्टी, बालुवा सङ्कलन गर्ने अनुमति प्रदान गरिसकेको छ। तर सडक विस्तारका क्रममा कटान गर्नुपर्ने रूखको स्वीकृति समयमा प्राप्त हुन नसक्दा केही क्षेत्रमा निर्माणको गति प्रभावित भएको छ”, उनले भने।

करिब १६ किलोमिटर लम्बाइ रहेको स्याफ्रुबेँसी–रसुवागढी खण्डको स्तरोन्नति सम्पन्न गर्न ३९ महिनाको समयावधि निर्धारण गरिएको छ। सडक स्तरोन्नति सम्पन्न भएपछि नेपाल–चीनबिचको व्यापार, पर्यटन, पारवहन तथा जनस्तरको आवागमन अझ सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।

यसैबिच टिमुरे क्षेत्रमा वि.सं. २०६५ मा अधिग्रहण गरिएको सडकको दायाँबायाँको क्षेत्रभित्र स्थानीय बासिन्दाले पुनः घरटहरा निर्माण गरेकाले त्यस्ता संरचना हटाउन सम्बन्धित पक्षलाई सूचना जारी गरिएको आयोजना कार्यालयले जनाएको छ।

गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको बाढी र भोटेकोशी नदीको कटानका कारण सडकका विभिन्न भागमा ठूलो क्षति पुगेको थियो। विशेष गरी तातोपानी डाँडा, घट्टेखोला, घट्टेखोलाको दक्षिणी भीर तथा टिमुरे गाउँमुनिको पाखोलगायत क्षेत्रमा सडक संरचना कमजोर बनेपछि स्तरोन्नति कार्यलाई थप प्राथमिकता दिइएको इञ्जिनियर पराजुलीले उल्लेख गरे।

नेपाल र चीनबिचको शताब्दीयौँ पुरानो व्यापारिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने विश्वासका साथ अघि बढाइएको यो परियोजनाले उत्तरी नाकाको पूर्वाधार विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।

सडक स्तरोन्नतिसँगै रसुवागढी नाका हुँदै हुने द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रवर्द्धन तथा क्षेत्रीय आर्थिक गतिविधिमा उल्लेखनीय वृद्धि हुने स्थानीय तथा सरोकार भएकाहरूले विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट
ट्रेन्डिङ