काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिस्पर्धी अर्थतन्त्र चाहेको बताएका छन् । आजदेखि सुरु भएको रास्वपाको पहिलो महाधिवेसनलाई सम्बोधन गर्दै प्रतिस्पर्धी अर्थतन्त्र चाहेको बताएका हुन् ।
उनले भने,‘हामी यस्तो प्रतिस्पर्धी अर्थतन्त्र चाहन्छौँ, जहाँ पहुँच होइन क्षमता सफलताको आधार बनोस्स जहाँ आसेपासे पुँजीवाद वा विकृत समाजवाद होइन, उद्यमशीलता र परिश्रमले समृद्धिको ढोका खोलोस्।’
अर्थमन्त्री वाग्लेले आफुहरुले समन्यायिक समाज चाहेको जहाँ कुनै बालकको भविष्य उसको थर, जात, भूगोल, भाषा वा परिवारको आर्थिक अवस्थाले होइन, उसको प्रतिभाले निर्धारण हुनुपर्ने बताए ।
उनले रास्वपाले युवाले अवसर खोज्न आफ्नो देश छोड्नुपर्ने बाध्यता नआउने किसिमको नेपाल चाहेको बताएका छन् । उनले श्रम, सीप, ज्ञान र सिर्जनशीलताले यही माटोमा सम्मान र अवसर पाओस् भन्ने चाहना रास्वपाको रहेको बताए ।
‘यहाँ किसान र श्रमिकले गर्वका साथ बाँच्न सकुन, उद्यमीले बिना भय लगानी गरुन, र प्रत्येक नागरिकले आफ्नो भविष्यप्रति आशावादी हुन सकोस्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस