चितवन । प्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफू नेतृत्वको सरकारको यात्रा ‘एक्सप्रेस वे’ मा हिँडेको गाडी जस्तै भएको बताएका छन् ।
आइतबार चितवनमा रास्वपाको पहिलो ऐतिहासिक राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले सरकार सञ्चालन र कार्यशैलीमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै आफ्नो उद्देश्य र गन्तव्य प्रस्ट रहेकोले गन्तव्यमा पुगेपछि मात्रै विश्राम लिने बताए । उनले पार्टीलाई संस्थागत र स्थापित गर्ने कुरा अहिलेको आवश्यकता भएको बताए ।
उनले सरकार भनेको गाडीजस्तो हो भनेर धेरैले चिन्ता मानेको भन्दै भने, ‘त्यस्तो चिन्ता लोकल रोडमा हिँड्दा मात्रै हुन्छ । तर हाम्रो गाडी एक्सप्रेस वेमा हिँडेको गाडी हो, यो रोकिँदैन, सिधै गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ।’
उनले आफ्नो नेतृत्वको वर्तमान सरकारले विगतमा फट्याइँ र बदमासी गर्ने कसैलाई पनि नछाड्ने बताए । सरकारी रकमको दोहन गरिएको भए उनीहरूलाई कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । उनले राष्ट्रियताप्रति आफ्नो प्रतिवद्धतामा आशंका नगर्न उनले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस